बिर्तामोड । झापामा आत्महत्या गर्ने महिलाको सङ्ख्या वृद्धि हुँदै गएको छ । २०७७ साल यताको तथ्याङ्क अध्ययन गर्दा पुरुषको आत्महत्या दर भने घट्दो क्रममा रहेको देखिएको छ । ०७७ यता ९ सय ९३ जनाले झापामा आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/०७८ मा झापामा ३३ जना महिलाले आत्महत्या गरेका थिए । सो तथ्याङ्क ०७८/७९ मा ९२ जना पुग्यो । यसैगरी ०७९/८० मा यो सङ्ख्या १ सय २९ पुगेको थियो । आत्महत्या गर्ने पुरुषको सङ्ख्या भने घट्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको ग्राफमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/०७८ मा झापामा ३ सय १ जनाले आत्महत्या गरेका थिए । ०७८/७९ मा २ सय २२ र ०७९/८० मा १ सय ८८ जनाले स्वेच्छिक मृत्युवरण रोजेका थिए । चालु आर्थिक वर्षको हालसम्म २४ पुरुष र ९ महिलाले आत्महत्या गरेको प्रहरीले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । प्रहरीको तथ्याङ्कअनुसार ९० प्रतिशतभन्दा बढीले झुण्डिएर आत्महत्या गरेको पाइएको छ । यसका अतिरिक्त झापामा विष सेवन, आगो लगाएर, हातहतियार प्रयोग गरेर, आफैले गोली हानेर आत्महत्या गर्ने पनि छन् ।

आ.व.०७७/७८ मा १० प्रतिशत महिला र ९० प्रतिशत पुरुषले आत्महत्या रोजेको झापामा ०७८/७९ मा महिलाको आत्महत्या प्रतिशत २९ पुग्यो । अझ ०७९/८० मा ४१ प्रतिशत महिलाले आत्महत्या रोजेको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षको दुई महिनामा आत्महत्या गर्नेमा ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेका छन् । 

यस अवधिमा १६ वर्षमुनीका ६५ जना, १६ देखि २५ वर्षसम्मका २ सय ४१, २६ देखि ३५ का १ सय ९९, ३६ देखि ४५ का १ सय ७२, ४६ देखि ६० का १ सय ९० र ६० वर्षमाथिका १ सय ३२ जनाले आत्महत्या रोजेको तथ्याङ्कमा उल्लेख छ । ९ लाख ९४ हजारबढी जनसङ्ख्या भएको झापामा आत्महत्या गर्ने क्रम भयावह रहेको पाइएको छ । झापामा प्रत्येक वर्ष ३ सयभन्दा बढीले आत्महत्याको बाटो रोज्ने गरेको तथ्याङ्कमा उल्लेख छ । त्यसका अतिरिक्त आर्थिक वर्ष ०७७÷७८ यता १३ जना विदेशी नागरिकले झापामा आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ ।