नेपाली सेनाको ‘गो ग्रिन क्याम्पेन’ अन्तर्गत भोजपुरको टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । 

नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर–१२ टक्सारस्थित सामुदायिक वनक्षेत्रमा दुई हजार छ सय बिरुवा रोपेको हो । 

सामुदायिक वनको खालीपाखा टङटङेमा तेजपत्ता मसलालगायत बिरुवा रोपिएको गणपति फडिन्द्र थापाले जानकारी दिए । 

‘वातावरणको संरक्षणका लागि बिरुवा रोपेका छौँ’, गणपति थापाले भने, ‘हाम्रो यो अभियान जारी छ । यो अभियानअन्तर्गत जिल्लाका अन्य स्थानमा पनि बिरुवा रोप्ने लक्ष्य छ ।’ सेनाले विपद्लगायत विभिन्न सामाजिक क्षेत्रमासमेत आफ्नो गतिवधि बढाएको गणपति थापाले बताए । 

सेनाले थालेको बिरुवा रोपण अभियान सह्रानीय रहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । वृक्षरोपणका लागि सेनालाई डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएको हो । डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले नाङ्गा डाँडालाई हरियाली बनाउने उद्देश्यले वृक्षरोपण कार्यक्रम गरिरहेको जानकारी दिए ।