संघीय गणतन्त्र चीनको स्वशासित क्षेत्र हङकङ मुख्य भूमिमा फिर्ता भएको २६ औं वार्षिकोत्सवको खुशीयालीमा हङकङ नेपाली महासंघले ‘सांस्कृतिक सद्भाव मेला २०२३’ मनाएको छ । सांस्कृतिक सद्भावका लागि  हङकङस्थित याउमातेई कम्युनिटी सेन्टरमा जुट्दै नेपालीहरुले सद्भाव मेला आयोजना गरे ।

हङकङ सरकारको होम अफेयर्स डिपार्टमेण्टको सहयोगमा महासंघले हेनरी जि ल्योङ याउमातेई कम्युनिटी सेन्टरमा चिनियाँलगायत अन्य समुदायका बीच  ‘सांस्कृतिक सद्भाव आदानप्रदानका लागि मेला भव्यतापूर्वक आयोजना गरेका हुन् ।

महासंघका अध्यक्ष रिता गुरुङकाअनुसार हङकङ नेपाली महासंघले आइतबार सांस्कृतिक सद्भाव मेलामा अल्पसंख्यक नेपाली समुदायले सांस्कृतिक सद्भाव देखाएकोमा हङकङ सरकारका विधान परिषद्का विधायक भिन्सेन्ट चेङ्ग, होम अफेयर्स डिपार्टमेण्टका याउचिममोङ्ग डिष्ट्रीक अफिसर एडवर्ड याउले कार्यक्रम स्थलमै प्रशंसा गरेका थिए । चिनिया प्रतिनिधिहरुले यस्ता सांस्कृतिक सद्भाव हङकङको समाजमा अपरिहार्य रहेको पनि बताएका थिए । 

Hongkong china nepalese fest

गुरुङको अध्यक्षतामा सम्पन्न सांस्कृतिक सद्भाव मेलालाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेण्टले सहयोग गरेको थियो । मेलाका प्रमुख अतिथिको रुपमा हङकङका लागि नेपाली महावाणिज्यदूत सतिश गुरुङलगायत हङकङस्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुका आमन्त्रित प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति थियो ।

सांस्कृतिक सद्भाव मेलामार्फत हङकङ–चीन बुझ्ने बुझाउने र त्यहाँ बसेका नेपालीसहित अन्य समुदायको सांस्कृतिक पक्षलाई पनि बुझ्ने बुझाउने काम भएको अध्यक्ष गुरुङले बताइन् ।

महासंघले ‘हाम्रो एकता, हाम्रो सफलता’ नारासहित सुरु गरेको मेलामा विभिन्न जातीय समुदायका मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिहरु, जनचेतना जगाउने स्टलहरु राखिएको गुरुङले बताइन् ।