भद्रपुर । भद्रपुरमा एउटा समूहले गाई, गोरुको मासु पकाएर सामूहिक भोज खाँदै गरेको भिडियो सामाजिक सञ्जालमा हालेपछि भद्रपुर नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार दिउँसो भद्रपुर–४ रङ्गेझोडास्थित देउनियाँ खोलाको डिल नजिकै सामूहिक भोज खाँदै गरेको भिडियो सामाजिक सञ्जालमा हालेपछि नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको हो ।

नगरप्रमुख गणेश पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव र सहिष्णुता भड्काउने कानूनविपरीतका विचार र अभिव्यक्तिहरू सामाजिक सञ्जालमा नराखिदिन सार्वजनिकरूपमा अपिलसमेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘केही दिनअघि भद्रपुर नगरपालिका क्षेत्रमा गाई, गोरुको मासु खाने विषयसँग सम्बन्धित रहेर विभिन्न व्यक्तिहरूबाट सामाजिक सद्भाव र सहिष्णुता भड्काउने किसिमका विचार र अभिव्यक्तिहरूसहितका सामग्रीहरू सामाजिक सञ्जालमा राखिएको सन्दर्भमा नगरपालिकाको गम्भीर भएको छ ।’

मुलुकी अपराध संहिता, २०७४ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउनु नहुने कानूनी व्यवस्था रहेको उल्लेख गर्दै यस किसिमका गतिविधिहरू सञ्चालन गरी सामाजिक सद्भाव र सहिष्णुता भड्काउने कानूनविपरीतका विचार र अभिव्यक्तिहरू सामाजिक सञ्जाल वा कुनै पनि माध्यमबाट व्यक्त नगर्न नगराउन अपिल गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २८९ मा गाई, गोरु मार्न या कुट्न नहुने उल्लेख गरेको छ । सोही दफाको उपदफा २ मा गाई, गोरु मार्नेलाई तीन वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । त्यस्तै कसैले गाई वा गोरुलाई कुटी अङ्ग–भङ्ग पारेमा निजलाई ६ महिनासम्म कैद र अन्य चोट पुर्याएमा ५० हजार रुपैयाँसम्म जरिबाना हुने उपदफा ३ मा प्रष्ट भनिएको छ । गोरुको मासु खाई सांस्कृतिक क्रान्ति गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो अपलोड गरिएको थियो ।

पाँच जिल्लामा एकै समय सांस्कृतिक क्रान्ति गरेको सन्देश भिडियोमा बोलेका थिए । सो भिडियो बिकिन काम्बाङ नाम गरेको फेसबुक एकाउन्टबाट बाहिरिएको थियो । सो भिडियो भाइरल भएलगत्तै झापाका प्रहरी, प्रशासनको समेत ध्यानाकर्षण भएको थियो । प्रहरी टोली आइतबार बिहानै भोज खाएको स्थलमा पुगेर थप छानबिन गरेको बताइएको छ । सो भिडियोबारे थप अनुसन्धान गर्न साइवर ब्युरोमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।