धनकुटा /किसानका खेतीपातीमा लाग्ने बाँदर नियन्त्रणका लागि धनकुटाका सामुदायिक वनमा वनजन्य फलफूल खेती सुरु गरिएको छ । कोशी प्रदेश सरकारको करिब १० लाखको सहयोमा आर्थिक वर्ष २०७९– ८० देखि डिभिजन जिल्ला वन कार्यालयले उक्त कार्यक्रम सुरुवात गरेको हो । प्रदेश सरकारको प्रदेश वन विकाश कार्यक्रम अन्तर्गत करिब आठ हेक्टर १५७ रोपनी वनमा फलफूल खेती गरिएको छ ।

जिल्ला भरीका सात वटा सामुदायिक वनमा विभिन्न ९ जातका १२ हजार ७ सय वनजन्य फलफूलको बिरुवा रोपिएको कार्यालयका योजना अधिकृत राजन राईले बताएका छन् । पाख्रिबास नगरपालिकाको जनता सामुदायिक वन, महालक्ष्मी नगरपालिकाको अर्खौले ,छथर जोरपाटी गाउँपालिकाको गोगनपानी, धनकुटा नगरपालिकाको ढोडनी कालीवन र लामाटार, चौबिसे गाउँपालिकाको बुटेनी र सागुरीगढी गाउँपालिकाको जोगीथुम्का सामुदायिक वनमा बिरुवा रोपिएको छ।

प्रत्येक सामुदायिक वनमा कहटहर, अम्बा, अमला, जामुन, लप्सी, बर्रो, ओखर, हलुवाबेद र चिउरीका  बिरुवा रोपिएको राईले जानकारी गराएका छन् । वनजन्य फलफूलका बिरुवा रोपेपछि आगामी दिन किसानलाई बाँदरको आतङ्कबाट राहत मिल्ने र वनको जैविक विविधताको संरक्षणमा सकेत टेवा मिल्ने कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताएका छन् । “बाँदरले वनमा नै खाने आहारा पाएपछि किसानलाई दुःख नदिने उनले बताए ।

यस कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्ष करिब दस हजार वनजन्य बिरुवा रोप्नने  तयार गरिएको  अधिकृत राईले जानकारी दिएका छन् । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारकले पाँच लाख बराबरको बजेट कार्यक्रमको लागी छुट्याएको उल्लेख गरेका छन् । जिल्लामा हाल तीन सय ८७ सामुदायिक वन रहेका छन् ।