प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर आज र भोलिमा नै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताएका छन् । 

सङ्गठित अपराधको यस मुद्दामा अनुसन्धान भइरहेकोमा भदौ महिनाको ३१ गते ६० दिन पुग्ने भएकाले सो अबधिसम्म मुद्दा अदालतमा पुग्नुने गरी। प्रतिवेदन लेखने काम लगभग सकिएको र केही प्राविधिक काम बाँकी रहेकोले ढिला भएको सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले राससलाई बताएका छन् ।

उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी हिरासतमा रहेको बताएका छन् । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक समेत जोडिएको खुलेको छ । 

चिनियाँ नागरिकले नेपाली नागरिकता समेत लिएको खुलेको छ । तस्करीमा भन्सारका कर्मचारीहरु मिलेमतो रहेको पाइएकाले पछिल्लो समयमा प्रहरीले भन्सार अधिकृत पुष्पा जोशीसहित नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको छ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको अपरेशनका क्रममा हङकङबाट ब्रेक सुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको थियो । सुन भन्सार पास भएर निस्किएको थियो । विभागले आवश्यक अनुसन्धान सकेको १८ दिनपछि सुन प्रकरणको अनुसन्धान अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआइबी)ले गरिरहेको छ ।  

ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम शुद्ध सुन भएको थियो । अहिले उक्त सुन राष्ट्र बैंकको संरक्षणमा राखिएको छ ।