विराटनगर । कोशी प्रदेश प्रहरी गण रानी विराटनगरमा लेखापालको रूपमा कार्यरत वरिष्ठ सइ लक्ष्मण महतराले दुई वर्षदेखि चोरीको मोटरसाइकल चढ्ने गरेको पाइएपछि प्रदेश प्रहरीले छानबिन समिति गठन गरेर अनुसन्धान सुरु गरेको छ ।

वरिष्ठ सइ महतराले चोरीको मोटरसाइकल चढेको विषयमा छानबिनको लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन भएको हो ।

डिएसपी श्रेष्ठ नेतृत्वको छानबिन समितिले अहिले अनुसन्धान गर्दै आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सइ महतराले विगत दुई वर्षदेखि १ सय ५० सिसीको प्रदेश नं. १–०१–०१३ प ७०२२ चोरीको पल्सर मोटरसाइकलमा हिँड्ने गरेको भन्दै प्रहरी प्रधान कार्यालय साउन २१ गते बेनामे उजुरी दर्ता भएको छ । उक्त कार्यालयमा जेठ १६ गते वरिष्ठ सइ महतराविरुद्ध उजुरी परेको थियो । प्रहरी प्रधान कार्यालयमा दर्ता भएको उजुरीको नम्बर ४५६ रहेको छ । महतराविरुद्ध उजुरी परेपछि छानबिनको लागि प्रहरी प्रधान कार्यालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा उक्त पत्र पठाएको छ । अहिले छानबिन समितिले अन्तिम प्रतिवेदन बुझाउने तयारी गरेको बुझिएको छ । चोरीको उक्त मोटरसाइकल अहिले प्रदेश प्रहरी कार्यालयमा रहेको छ ।

शक्ति केन्द्रबाट दबाव आएको कारणले महतरालाई जोगाएर प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको बुझिएको छ । ‘प्रदेश प्रहरीमा मोटरसाइकल राखिएको छ । सइ महतराले प्रयोग नगरेको देखाएर छानबिन प्रतिवेदन बुझाउने र कारबाहीबाट जोगाउने तयारी गरिएको छ’–सुरक्षा स्रोतले भन्यो ।

यता उजुरीउपर छानबिन टोली गठन गरेर अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलले जानकारी दिए । उजुरी दर्ता भएपछि अहिले छानबिन भइरहेको एसपी कँडेलले बताए । उजुरीमा परेजस्तो छानबिनबाट प्रमाणित भए कारबाहीको भागिदार हुने उनको भनाइ छ । ‘प्रहरी सङ्गठनको मूल्य, मान्यता र आचरणविरुद्धको काम गर्ने जोकोही पनि कारबाहीको भागिदार बन्नेछ’ एसपी कँडेलले भने, ‘दोषीलाई जोगाउने भन्ने कुरै हुँदैन ।’

सइ महतरा यसअघि इलाका प्रहरी रानी विराटनगरमा लेखापाल रहेका थिए । उनी सरुवा भएर प्रदेश प्रहरी गणमा पुगेका हुन् । इप्रका रानीमा हुँदादेखि उनले चोरीको मोटरसाइकल प्रयोग गर्दै आएको उजुरीमा उल्लेख छ । इप्रका रानीमा लेखापाल रहँदा महतराले तस्करसँग पनि मोटो रकम असुली गर्ने गरेको आरोप लागेको छ । लामो समय रानीमा बस्दा चिनजान भएको तस्करसँग अहिले पनि उनी नियमित सम्पर्क गर्ने र रकम माग्ने गरेको उजुरी पत्रमा उल्लेख छ ।

उनको प्रहरी वृत्त कीर्तिपुर काठमाडौंमा दरबन्दी भए पनि उनी काजमा प्रदेश प्रहरी कार्यालय गणमा कार्यरत रहेका छन् । कोशी प्रदेशका डिआइजी राजेशनाथ बास्तोलाले कोशी प्रदेशको कमाण्ड सम्हालेपछि सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा दरबन्दीअनुसारका प्रहरीलाई सोही ठाउँमा पठाउने प्रतिबद्धता गरेका थिए । तर, वरिष्ठ सइ महतराको हकमा लागू भएको छैन । उनी शक्ति र पहुँचको आडमा ‘क’ श्रेणीको ठाउँमा काजमा बस्दै आएको वर्षौं भएको छ । तल्लो दर्जाको प्रहरीलाई दरबन्दीअनुसारको ठाउँमा पठाउने र माथिल्लो दर्जाको प्रहरी अधिकृतलाई रमना लिएर रोजाइअनुसारको ‘क’ श्रेणीको कार्यालयमा छोडिदिने गरेको महतराको हकमा देखिएको छ । उनी ‘क’ श्रेणीको कार्यालयमा काजमा बस्ने गरेको वर्षौं भएको छ ।