झापा/ गौरादह नगरपालिका वडा नम्बर –५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले सञ्चालन गरेको नमुना घरबास (होमस्टे ) आन्तरिक तथा बाह्य पयर्टकको रोजाइमा परेको छ । जिल्लामा सहकारी भ्रमणका लागि विभिन्न सङ्घसंस्था, सहकारी तथा जनप्रतिनिधिदेखि पर्यटकीय स्थल घुम्न आउनेका लागि यहाँ सञ्चालित नमुना घरबास पहिलो रोजाइमा पर्ने गरेको हो ।

पूर्वपश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करिब २० किलोमिटर दक्षिणमा रहेको यस घरबासमा हिउँदमा मात्र होइन वर्षामा पनि पर्यटकहरु बास बस्न आउने गरेका सहकारीका व्यवस्थापक अर्जुन खतिवडाले  बताए। उनका अनुसार सहकारीले दुई वर्षअघि ५० जना अट्ने क्षमताको घरबास निर्माण गरेको हो । 

रू एक करोड २० लाखमा निर्माण गरिएको उक्त घरबास कृषि पर्यटन प्रवद्र्धनका लागि वातावरण अनुकूल रहेको खतिवडाले जानकारी दिएका छन् । “पाहुनाको खाँचो छैन”,उनले भने “सधै भरिभराउ नभए पनि हामीले गरेको नमुना खेती हेर्न आउने पर्यटक बास बस्ने गरी आइरहेका छन् ।” उनका अनुसार कृषि पर्यटनलाई लक्षित गरी संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जग्गमा निर्माण गरिएको हो । 

घरबासमा आठ सुुत्ने र बस्ने सुविधा सम्पन्न कोठाको साथै ८० जना अट्ने तालीम हल रहेको खतिवडाले जानकारी दिएका छन्। उनि भन्छन् , “अवलोकन भ्रमणमा देशभरका सहकारी, सङ्घसंस्थाबाट आउनुहुने पाहुनालाई सस्तो र गुणस्तरीय सेवा प्रदान गरिरहेका छौं ।” उनका अनुसार वार्षिक रुपमा एक हजार बढी पाहुना बास बस्ने गरी आउने गरेका छन् ।

उनले एक दिन बस्नका लागि प्रतिव्यक्ति साझा कोठाको रू तीन सय, दुई बेड भएको कोठाको रू एक हजार र विशेष कोठाको रू दुई हजार पाँच सय तोकिएको बताए छन् । खतिवडाका अनुसार सहकारीले जैविक तरकारी खेती, गाई फार्म, माछा, लोकल कुखुराका साथै आचार, पापड, डेरीलगायत उद्योग सञ्चालन गर्दै आएको छ ।