धरान । राष्ट्रिय परीक्षा बोर्डको हालै प्रकाशित परीक्षामा सुनसरीको धरानस्थित एम्स कलेजमा विज्ञान सङ्कायका एक विद्यार्थीले धरान क्षेत्रबाट सर्वोत्कृष्ट अङ्कसहित प्रथम भएको कलेजले दाबी गरेको छ । 

कलेजका प्राचार्य सन्तोष कोइरालाका अनुसार धरानका सामुदायिक, निजी तथा संस्थागत विद्यालयहरूमध्येबाट विज्ञान सङ्कायका प्रतीक बस्नेतले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याएको हो । बोर्डले शुक्रबार सार्वजनिक गरेको परीक्षामा धरानभरिका स्कुलहरूमध्ये प्रतीकले ३.८८ जीपीए प्राप्त गर्दै धरानमा प्रथम भएको हो । 

प्राचार्य कोइरालाले भने, “हाम्रो कलेजको उद्देश्य नै विद्यार्थीहरूलाई राम्रो शिक्षा दिई परीक्षामा राम्रो गराउने भन्ने हो । सोअनुसार एकजना विद्यार्थीले टप गरेछ । हामी खुसी छौँ ।” २५ वर्षे इतिहासमा कलेजले विगतभन्दा झन् झन् राम्रो गर्दै आएको बताए । “विगतमा पनि राम्रो थिएन भन्ने होइन । त्यो गरिमालाई शाख राख्दै अगाडि बढ्ने लक्ष्य हो”–उनले भने । 

धरानमा करिब १३ वटा सामुदायिक विद्यालय र १२ वटा निजी तथा संस्थागतमध्येबाट एम्सले धरानभरिमा सर्वोत्कृष्ट गरेको प्राचार्यले बताए ।