चीनको ताईजिन शहरमा भएको प्रथम अन्तर्राष्ट्रिय कराते अलायन्स क्योकुशिनरियु  टुर्नामेन्टमा  खोटाङका खेलाडी बर्जकुमार राई च्याम्पियन बनेका छन् ।

अन्तर्राष्ट्रिय कराते अलायन्स क्योकुशिनरियु चीनले  आयोजना गरेको प्रथम वल्र्ड जुनियर सिनियर पुरुष तथा महिलाको टुर्नामेन्टमा १९ वटा देशलाई पछि पार्दै राई पुरुष तर्फ च्याम्पियन बनेका हुन । राई सिंगापुर प्रहरीमा कार्यरत छन् । उनी बिदा लिएर टुर्नामेन्टमा सहभागी भएका थिए ।

टुर्नामेन्टमा नेपाल, सिंगापुर, जापान, पोल्याण्ड, भारत, इटाली, रसिया लगायत १९ वटा देशका खेलाडी सहभागी थिए । नेपालबाट टुर्नामेन्टमा दुई खेलाडि सहित चार जना सहभागी भएका थिए । उक्त खेललाई नेपाल सरकार र खेलकुद महासंघले भने दर्ता गर्न अस्वीकार गरेको अन्तर्राष्ट्रिय कराते अलायन्स क्योकुशिनरिय क्लब नेपालका अध्यक्ष ऋतुवर्तन राईले जानकारी दिए । अध्यक्ष राईको पहलमा खेलाडीहरु चीनमा भएको टुर्नामेन्टको लागि सहभागी भएका थिए ।

यो खेलका लागि नेपाल सरकार र खेलकुद महासंघले क्लब दर्ता गर्नु पर्ने उनको माग छ । क्लब दर्ता भएपछि आधिकारिक रुपमा नेपालको तर्फबाट  विभिन्न देशमा सहभागी भई थुप्रै टुर्नामेन्टहरुमा जीत हात पार्न सकिने क्लबका अध्यक्ष राईले बताए ।