विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार स्कुलले जितेको छ ।

विराटनगरको रानीस्थित जुटमिलको खेल शनिबार सम्पन्न फाइनलमा विराटनगरको मोडर्न एरालाई २–० गोलले हराउँदै रेडस्टारले उपाधि जितेको हो । जितसँगै रेडस्टारले ५१ हजार रुपैयाँ जितेको छ । उपविजेता बनेको मोडर्न एराले ३१ हजारमा चित्त बुझायो ।

जितको लागि रेडस्टार पथरीका  सोनाम गुरुङ र  सौगात राईले गोल गरे । प्रतियोगितामा रेडस्टारका विषय गुरुङ बेस्ट गोलकिपर, रेडस्टारकै भीषण राई बेस्ट डिफेन्डर भए भने मोडर्न ऐराका प्रवेश तामाङ बेस्ट मिड फिल्डर घोषित भए । यस्तै रेडस्टारका सौगात राई बेस्ट फरवार्ड, हाइस्कोरर रेडस्टारका सोनम गुरुङ, बेस्ट कोच रेडस्टारका युकेश तामाङ र म्यान अफ द सिरिज जोसन कार्की घोषित भए ।

विजयीहरूलाई विराटनगर–१६ का वडाध्यक्ष उद्धव भुजेल, फार्क क्लवका अध्यक्ष धनकुमार लामा खेलका संयोजक श्याम लामाले पुरस्कार वितरण गरेका थिए  ।

पुस १ गतेदेखि सुरु भएको प्रतियोगितामा मोरङका निजी र सामुदायिक गरी १२ वटा विद्यालय सहभागी रहेका थिए ।