धरान । धरान–१ स्थित धरान मोडल कलेजकी छात्रा सन्ध्या लिम्बू बिबिएस चौथो वर्षमा सुनसरी प्रथम भएकी छन् ।

त्रिभुवन विश्वविद्यालयले गत वैशाख महिनामा सञ्चालन गरेको बिबिएस चौथो वर्षको वार्षिक परीक्षाको हालै प्रकाशित नतिजाअनुसार सन्ध्या सुनसरी प्रथम भएकी हुन् । सन्ध्याले चौथो वर्षमा ८० प्रतिशत अङ्क प्राप्त गरी विशिष्ट श्रेणीमा उत्तीर्ण गरेको क्याम्पस प्रमुख प्रवीन राईले जानकारी दिए । क्याम्पस प्रमुख राईले भने, ‘हामीले सुनसरीभरिका सबै कलेजमा बुझ्यौँ । हाम्रो विद्यार्थीले नै चौथो वर्षमा उत्कृष्ट अङ्क ल्याएको पायौँ ।’

मोडल कलेजमा  सन्ध्याले २०७६ सालमा बिबिएस प्रथम वर्षमा भर्ना भएर अध्ययन सुरु गरेको क्याम्पस प्रमुख राईले जानकारी दिए । उनलाई कलेजले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

क्याम्पस प्रमुख प्रवीन राई, कलेजका अध्यक्ष बद्री तामाङ, कलेज व्यवस्थापन समितिका अध्यक्ष भवानीशङ्कर भट्टराई र कलेजका पूर्व अध्यक्ष एवम् सल्लाहकार डा.जीवनकुमार राईले सन्ध्यालाई ५ हजार रुपैयाँ नगदसहित अबिर र खदा लगाएर सम्मान गरे । चौथो वर्षमा उत्कृष्ट नतिजा ल्याएर कलेजको नाम राख्न सफल भएकाले सन्ध्यालाई सम्मान गरेको क्याम्पस प्रमुख राईले बताए ।