धरान । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित सप्तकोशी मा.वि.ले नौ महिनापछि बल्ल विद्यार्थीहरूलाई छात्रवृत्ति रकम बाँडेको छ ।
आइतबार एक कार्यक्रम गरी स्कुलका विद्यार्थीहरूलाई छात्रवृत्ति बाँडेको स्थानीय सञ्चारकर्मी देवराज यादवले जानकारी दिए । ‘समाचार लेखेपछि बल्ल बल्ल अहिले छात्रवृत्ति बाँडेछ’–उनले फोनसम्पर्कमा भने । सप्तकोशी मा.वि.का प्रधानाध्यापक कैलाशकुमार झाले छात्रवृत्तिको रकम निजी स्रोतमा राखिएका शिक्षक तथा कर्मचारीलाई तलब खुवाएको भनी यसअघि ब्लाष्टकर्मीलाई प्रतिक्रिया दिएका थिए ।
शैक्षिक सत्र २०८०/०८१ मा दिनुपर्ने एक लाख ३६ हजार आठ सय रुपैयाँ छात्रवृत्ति निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई वितरण गरेको थियो । त्यहाँ तीनसय ४२ जना विद्यार्थीलाई छात्रवृत्ति नदिइएको हो । सामान्यतः शैक्षिक सत्रको अन्तिमसम्ममा छात्रवृत्ति वितरण गरिसक्नुपर्ने प्रावधान भए पनि हालै मात्र दिइएको हो ।
यस विषयमा स्थानीय सरकारले पनि चासो दिएको थिएन । ब्लाष्टले दुई पटक समाचार प्रकाशित गरेपछि आइतबार सुटुक्कै छात्रवृत्ति वितरण गरिएको हो । यसबारे प्रधानाध्यापक कैलाशकुमार झाले आइतबार नै छात्रवृत्ति वितरण गरिसकेको बताए । उनले सबै शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थितिमा छात्रवृत्ति वितरण गरेको बताए ।
दुईजना बालविकास, तीन जना निजी शिक्षकसहित विद्यालयमा हाल १६ जना
शिक्षक छन् । छात्रवृत्तिको रकम अपचलन गरेको विषयमा भने हालसम्म
प्रधानाध्यापक झालाई कारबाही गरेको छैन ।