धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीबीचको विवादका कारण रोकिएको अङ्कोलोजी युनिटलगायत भवनको उद्घाटन बिहीबार (भोलि) गरिँदै छ । 

प्रतिष्ठानका मुख्य पदाधिकारीहरू उपकुलपतिदेखि रजिष्ट्रारसम्मको विवादका कारणले सोमबारका लागि तय गरिएको उद्घाटन कार्यक्रम स्थगित भएको थियो । अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले एकलौटी ढङ्गबाट औषधिलगायत खरिद गरेको विषयमा विवाद भएको थियो । यस्तै उपकुलपति डा. ज्ञानेन्द्र गिरीले पनि निर्माण सम्पन्न नभई नै हतारोमा उद्घाटन गर्न खोजेपछि विवाद सिर्जना भएको थियो । 

WhatsApp Image 2025-01-22 at 19.25.59_cc15b3a5

सोही विवादका कारण पदाधिकारीहरूबीच नै मनमुटावको स्थिति सिर्जना भएको थियो । उक्त विवादका कारण सोमबार तामझामका साथ उद्घाटन गर्ने दिन तय गरिए पनि स्थगित गर्नुपरेको थियो । प्रतिष्ठानमा कार्यरत डाक्टरहरूले पदाधिकारीहरूको दूरगामी सोच नहुँदाको परिणाम भएको भन्दै टिप्पणी गरेका थिए । 

उद्घाटन गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको नामको शिलालेख लेखी टाँस गरिएको थियो । तर, उक्त टाँस गरिएको शिलालेखलाई पत्रिकाले छोपिएको थियो । उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा गरिएको भए पनि अघिल्लो दिन बसेको कार्यकारी समिति (कास)को बैठकमा पदाधिकारीहरूबीच नै विवादको स्थिति सिर्जना भएपछि एकाएक रोकिएको थियो ।

कासको बैठक भने कोरम नपुगेर स्थगित गरिएको भनिएको थियो । तर, खासमा उपकुलपति र अस्पताल निर्देशकले आफ्नो किसिमको रवैया देखाएका कारण रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाले प्रतिवाद गरेका थिए । यस विषयमा ब्लाष्टकर्मीले तीनैजनालाई फोनसम्पर्क गरे पनि रजिष्ट्रारले मात्रै फोन उठाएका थिए । उनले भनेका थिए, ‘प्राविधिक कारणले स्थगित भएको हो, एक दुई दिनमा कार्यक्रम हुन्छ । तर व्यवस्थापन पक्ष पनि सुध्रिन आवश्यक छ ।’

उपकुलपति डा. गिरीलाई ब्लाष्टकर्मीले फोन गर्दा फोन उठाएनन् भने डा. जगत नारायण प्रसादले पनि फोन उठाएनन् । अङ्कोलोजीसहित बर्डन र औषधि कक्ष उद्घाटन गर्ने तयारी गरिएको थियो । उक्त तयारी भोलि (बिहीबार)का लागि सारिएको छ ।