विराटनगर । वैदेशिक रोजगारको नाममा अनलाइन ठगी धन्दा बढ्दै गएको पाइएको छ । अमेरिका क्यानडा र युरोप पठाउने भन्दै गिरोहले वैदेशिक रोजगारको नाममा अनलाइन ठगी चलाउने गरेको पाइएको हो । क्यानडा र युरोपमा आकर्षक रोजगारी दिलाइदिने भन्दै मोरङ प्रहरीले एक भारतीयसहित पाँचजनालाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ ।

पक्राउ पर्नेमा भारत अररिया जिल्ला जोगवनी ग्राम पञ्चायत–३ का २३ वर्षीय केशव यादव, कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, विराटनगर महानगरपालिका–८ का २३ वर्षीय करण भन्ने अमित राय, कटहरी–३ का ३० वर्षीय बुद्धनारायण मलाह र पथरी शनिश्चरे नगरपालिका–५ का २५ वर्षीय  बोधराज राजवंशीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनीहरूले युरोप, अमेरिका, कुवेत, दुबई पठाउने भनी भ्रममा पारी ठगी गरेको आरोप छ । अनलाइनमार्फत् विभिन्न देशको विज्ञापन देखाउने र प्रलोभनमा पारी ठगी गर्ने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट देखिएको डिएसपी जोशीले बताए ।

उनीहरूले विराटनगर महानगरपालिका–११ बस्ने महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरीलाई क्यानडा पठाइदिने भनी ६६ लाख ६७ हजार रुपैयाँ ठगी गरेको डिएसपी जोशीले बताए । ‘विभिन्न विदेशी मोबाइल नम्बरहरूबाट खोलिएको ह्वाट्सएपबाट महेशकुमार चौधरीलाई कल गरी भिषा प्रयोजनका लागि आवश्यक कागजातहरूसमेत पठाई प्रलोभनमा पारी विभिन्न मानिसहरूको बैङ्क खातामा पटक–पटक गरी ६६ लाख ६७ हजार जम्मा गर्न लगाई ठगी गरेको पाइएको छ’ डिएसपी जोशीले भने, ‘ठगीमा परेपछि पीडितले दिएको जाहेरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।’

पक्राउ परेका प्रतिवादीहरूलाई मोरङ अदालतमा मङ्गलबार ठगी सम्बन्धित कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । रोजगारको नाममा ठगी धन्दा बढ्दै गएकोले विदेश जानेहरूलाई पनि ठगीका घटनाबारे सचेत हुन प्रहरीले आग्रह गरेको छ । ‘अनलाइनमार्फत् विभिन्न प्रलोभन देखाएर ठगी हुने गरेको छ । विदेश जानेहरू पनि बुझेर आफू सचेत हुन आग्रह गर्दछु’ डिएसपी जोशीले भने, ‘हामी यस्ता घटना हुनुहुँदैन भनेर सचेत छौँ । यसमा सबैभन्दा ठूलो कुरा भनेको विदेश जान चाहने व्यक्ति सचेत भयो भने मात्र ठगी हुनबाट जोगिन सकिन्छ ।’ यसअघि पनि जापान लैजाने भन्दै मोरङको सुनवर्षी नगरपालिका र कटहरीका ४० युवाबाट साढे दुई करोड बढी रकम लिएर ठगी गरेको आरोपमा गिरोहका एक जना सदस्यलाई प्रहरीले पक्राउ गरेको थियो ।

मोरङ प्रहरीले केही महिनाअगाडि सुनवर्षी नगरपालिका–६ का ३५ वर्षीया अजय राजवंशीलाई वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गरेको आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेका राजवंशीको ६ जनाको समूहले सुनवर्षी नगरपालिका र कटहरीका ४० बढी युवालाई जापान पठाउने भन्दै दुई करोड ५३ लाख ७५ हजार रुपैयाँ असुली गरेको थियो । जापानमा बसेर आफन्तलाई फोन गरी रोजगारीका लागि जापान लैजाने भन्दै गिरोहमार्फत् रकम असुली गरेर राजवंशीले ठगी धन्दा चलाउने गरेका थिए ।