धरान । लागूऔषध र प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित वनेम मेडिकल हलका सञ्चालक दम्पती पक्राउ परेका छन् ।
श्रीमान् सुरज वनेमको नाममा दर्ता रहे पनि मेडिकल हलमा श्रीमती टिम्पल श्रेष्ठ बस्ने गरेकी थिइन् । मेडिकल हलका सञ्चालक दम्पती मिलेर ‘कन्ट्याक्ट’ मा लागूऔषध बिक्री गरेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । सामान्यतः मेडिकल हल जसको नाममा दर्ता हुन्छ, सोही व्यक्ति नै मेडिकल हलमा बस्नुपर्ने प्रावधान भए पनि श्रीमान्ले श्रीमतीलाई बसाई बाहिरबाट कारोबार गर्ने गरेको हो कि भन्ने आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी प्रकाश जवेगूले जानकारी दिए । ‘मेडिकल हलमा नियमितरूपमा श्रीमती बस्ने गरेको पाइयो । उनैले कन्ट्याक्टमा लागूऔषध प्रयोगकर्तालाई बिक्री गर्ने गरेको पाइयो’–उनले फोनसम्पर्कमा भने ।
सोमबार राति गोप्य सूचनाका आधारमा मेडिकल हलमा छापा मार्दा कार्टुनभित्र लुकाई राखेको अवस्थामा ट्रामोल नामक दुई हजार एम्पुल लागूऔषध बरामद गरेको छ । त्यस्तै प्रतिबन्धित औषधि सात हजार ९ सय ३० चक्की बरामद गरिएको उनले जानकारी दिए । यस्तै धरान उपमहानगरपालिका–८ बाट दुईजनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
३१ वर्षीय सन्तोष परियार र उनको श्रीमती २० वर्षीया अनुष्का श्रेष्ठलाई पक्राउ गरिएको हो । उनीहरू दुवैजना कारोबारी हुन् । प्रहरीका अनुसार ट्रामानिलका पाँच सय ३२ एम्पुल र प्रतिबन्धित औषधि पाँच सय २८ चक्की बरामद गरिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धरानको टोलीले उनीहरूको भान्सा कोठाबाट लागूऔषध र प्रतिबन्धित औषधि बरामद गरिएको हो । उनीहरू चारैजनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
यस्तै सुनसरीको देवानगञ्ज गाउँपालिका–३ का ४० वर्षीय अर्बिनकुमार
यादवको घरमा खानतलासी गर्दा गाँजासहित ३५ वर्षीया सोनीकुमारी यादवलाई
नियन्त्रणमा लिएको छ । उनको घरमा दुई जेब्रा झोला र खाल्टो खनेर ड्रमभित्र
राखेको अवस्थामा प्लाष्टिकले प्याक गरेको अवस्थामा ३९ केजी दुई सय ९० ग्राम
गाँजा बरामद गर्न सफल भएको हो । इलाका प्रहरी कार्यालय देवानगञ्जका
इन्स्पेक्टर कमल विष्टको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।