धरान । ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माण योजनाका विषयमा ‘पक्ष र विपक्ष’ भएको स्थिति छ । यता निर्माणको ठेक्का पाएको कम्पनी हिमालयन कन्स्ट्रक्सनले उच्च सुरक्षा सतर्कताबीच काम गरिरहेको छ ।

अहिले ‘नो केबलकार’ भनी सामाजिक सञ्जालमा ह्यास ट्याग सुरु भएको छ । देशविदेशमा रहेका नेपालीहरूले सामाजिक सञ्जालमार्फत् केबलकार बन्नुहुँदैन भन्ने तर्क प्रस्तुत गरिरहेका छन् । अर्कोतिर निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनले भने १५ महिनाभित्र काम सम्पन्न हुने बताउँदै आइरहेको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ काफ्लेपाटीमा गत मङ्गलबारदेखि ‘फन्डेसन’ को काम भइरहेको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले जानकारी दिए । उनका अनुसार उच्च सुरक्षा सतर्कताका बीचमा अहिले निर्माण कम्पनीले काम गरिरहेको छ ।

उनले भने, ‘फन्डेसन खन्ने कामहरू भइरहेको छ । त्यहाँनिर निर्माण कम्पनीलाई ढुङ्गामुढा गर्छ भनेर सुरक्षा तैनाथ गरिएको छ । नो केबलकार भन्नेले चन्द्र ढकालले बनाउनुहुँदैन भनेर ठूलो इस्यू बनाइरहेका छन् । कसले बनाउने भन्दा स्थानीय या त सरकारले बनाउनुप¥यो रे भन्छन् ।’ यता मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिलगायतले भने निर्माणमा अवरोध सिर्जना गर्नका लागि मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङ क्षेत्रको यातायात अनिश्चितकालीनरूपमा ठप्प पारेको छ । त्यसका बावजुद पनि निर्माण कार्य भइरहेको छ ।

मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिका संयोजक श्री लिङ्खिमका अनुसार सरकारले प्रहरी लगाएर अवरोध गर्ने पक्षमाथि गोली चलाइयो त्यसको विरोध र निर्माण गर्नु हुँदैन भनेर अनिश्चितकालीन यातायात ठप्प पारिएको बताए । उनले भने, ‘नाराजुलुस लगाउने क्रममा गोली बर्साउन थालेपछि बन्द गर्ने अवस्थामा पुगेका हौँ ।’ उनले ठूलो सुरक्षा घेराभित्र निर्माणको काम चाहिँ भइरहेको बताए ।

यता ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद काफ्लेले बन्दकर्ताको प्रभावले गर्दा चार पाङ्ग्रे सवारी साधन नचलेको बताए । दुई पाङ्ग्रे, विद्यालय, बैङ्क, बजार, उद्योगधन्दा सबै सञ्चालन भइरहेको उनले बताए । निर्माणबारे जिज्ञासा राख्दा उनले भने, ‘हामी गो अहेड पनि भन्दैनौँ । बन्द गर पनि भन्दैनौँ बीचबाट हामीले काम गरिरहेका छौँ । आजलाई चाहिँ सडकको कुरा हो ।’

ताप्लेजुङमा केबलकार निर्माण गर्ने चर्चा भने २०७४ सालदेखि नै सुरु भएको थियो । त्यसबेला यती समूहले केबलकार निर्माण गर्ने भनी चर्चा चलेको नगर प्रमुख मादेनले बताए । यती समूहका प्रमुख पुष्प बेडवालले सुरु गरेका थिए । त्यही बेला श्री लिङ्खिमको संयोजकत्वमा मुक्कुमलुङ सङ्घर्ष समिति गठन गरिएको थियो । हाल उक्त समितिको बीचमा संयुक्त भनी नाम थपिएको छ । त्यहीँबाट मुन्धुमी स्थल भनेर प्रचार गरिन थालिएको उनले बताए । उक्त समितिले २०७४ सालमा सर्वोच्च अदालतमा आइएलओ १६९ को आधारमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा हालसम्म सर्वोच्च अदालतमा तामेलीमा रहेको नगर प्रमुख मादेनले बताए । उनका अनुसार २०७६/०७७ सालतिर किरात धर्मावलम्बीहरूले फाल्गुनन्दको प्रतिमा राखेपछि नै यो ठाउँलाई मुन्धुमी थलोको रूपमा स्वरहरू सुनिन थालेको हो ।

यती समूहका अध्यक्ष बेडवालको अमेरिकामा हुँदा कोरोनाका कारण मृत्यु भएपछि त्यो कुरा अगाडि बढ्न सकेन । त्यसपश्चात् आङ्छिरिङ शेर्पाको समूहले अगाडि बढाउने बताएको थियो । तर आङ्छिरिङको पनि हेलिकोप्टर दुर्घटनामा ज्यान गएपछि लक्ष्मी इन्टर्कन्टिनेन्टल हुँदै शिलान्यासमा आइपुग्दा चन्द्र ढकाल नेतृत्वको आईएमई समूहले यो आयोजनालाई अगाडि बढाएको छ । २०७६ सालमा यस समूहले सर्वेलगायतको काम सकेको थियो भने २०७७/०७८ सालमा वातावरणीय प्रभाव मूल्याङ्कनलगायत विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो । उक्त डिपीआर अनुसार तीन अर्ब लाग्ने भनिएको थियो ।

उक्त समूहले स्थानीय इन्द्र केदेमको कम्पनी हिमालयन कन्स्ट्रक्सनलाई निर्माणको जिम्मेवारी दिएको छ । केबलकार निर्माणमा पक्ष विपक्ष नरहेको फुङ्लिङ नगर प्रमुख मादेन बताउँछन् । उनी फोनसम्पर्कमा भन्छन्, ‘ताप्लेजुङवासीहरूले खासै विरोध गरेको अवस्था छैन । चन्द्र ढकाललाई बनाउन नदिने भनेर कोशी प्रदेश पहिचानवादी सबै यता पनि खनिए । देशव्यापीरूपमा बढेर गयो । कोशी प्रदेशको मुद्दा हराएर विभिन्न जातीय सङ्गठन, मोर्चाहरू खनिए ।’

काफ्लेपाटीबाट पाथीभरा मन्दिरभन्दा एक किलोमिटरमुनि निर्माण हुन लागेको केबलकारको लम्बाइ २७ सय मिटर छ । हालसम्म आईएमई समूहको करिब ४० करोड रुपैयाँ खर्च भइसकेको नगर प्रमुख मादेन बताउँछन् । अवरोधकर्ताहरूले ‘मुन्धुम’ संस्कृतिमाथि अतिक्रमण गर्न खोजिएको र स्थानीय प्राकृतिक सम्पदामाथिको दोहन गर्न खोजिएको भन्दै आन्दोलन गरेका छन् ।

नो केबलकार समूह र प्रहरी प्रशासनबीच शनिबार झडपको स्थिति सिर्जना भएको थियो भने त्यसक्रममा अवरोधकर्ताहरू पाँच जना घाइते भएका थिए । त्यसमध्ये तीन जना गम्भीर छन् । तर उनीहरू खतरामुक्त रहेको जनाइएको छ । यस्तै जनपद प्रहरीतर्फ १२ जना र सशस्त्र प्रहरीतर्फ नौ जना गरी कुल २१ जना घाइते भएको प्रहरीले जनाएको छ ।