विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ का सञ्जयकुमार मण्डल घरनजिकको कृषि सहकारीमा मल नपाएपछि करिब २२ किलोमिटर पश्चिममा रहेको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन विराटनगर धाएको हप्ता दिन भयो । घरदेखि करिब एक घण्टा लगाएर विराटनगर आउँदा पनि मल नभएको र आउन केही समय लाग्ने भएपछि उनी रित्तो हात घर फर्किए । उनले चार बिघामा खेती गर्र्दै आएका छन् ।
दुई बिघामा मकै र बाँकी रहेको दुई बिघामा अन्य विभिन्न बाली लगाउने गरेका छन् । बाली लगाउने बेलामा युरिया र डिएपी आवश्यक पर्ने भएपछि उनी घरनजिकको कृषि सहकारीमा दिनमा एक पटक पुग्ने गरेका छन् । सहकारीले माथिबाटै मल नआएको जानकारी दिएपछि उनीसहित धनपालथान र जहदाका सयौं किसानहरू भेला भएर मङ्गलबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई भेटेर गुनासो सुनाए । सयौंको सङ्ख्यामा भेला भएका किसानहरूले प्रमुख जिल्ला अधिकारीलाई कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङलाई मौज्दात भएको मल किसानलाई वितरण गरिदिनुपर्ने माग राखे ।
मल नपाएकै कारण धेरै किसानले गहुँ, मसुरो, तोरीलगायतका हिउँदे बाली लगाउन नपाएको उनीहरूले गुनासो पोखे । कतिपयले भने मल पाए पनि महँगोमा खरिद गर्नुपरेको गुनासो सुनाए । ‘चाहिएको बेला सहकारीमा मल पाइँदैन, सरकारले पनि हाम्रो गुनासो सुन्दैन’ कृषक मण्डलले भने, ‘मल कतै नपाएपछि प्रमुख जिल्ला अधिकारीलाई आफ्नो गुनासो सुनाउन आएको हो । खेतमा मकै र गहुँ छर्न ढिला भइसक्यो । मल नहाली बाली राम्रो पनि हुँदैन ।’
मल नपाउँदा गहुँ छर्न ढिलो भएको धनपालथान–५ का अर्का किसान सुधारसिंह खवासले बताए । उनले दुई बिघामा गहँु खेती लगाउने गरेको सुनाए । मल आपूर्तिको जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले समयमै मल वितरण नगर्दा हाहाकार भएको बताए । ‘सहकारीले पनि नातागोता र निकटका किसानलाई हेरेर वितरण गर्छन्’–उनले गुनासो गरे ।
अहिले डिएपी र युरिया मलको हाहाकार भएको उनले बताए । ‘मल अभावका कारण गहुँ छर्न ढिला भइरहेको छ’ उनले भने, ‘सबै किसानले भारत गएर मल खरिद गर्न सक्दैनन् । सरकारले सहजै मल उपलब्ध गराउनुपर्छ ।’
किसानले मङ्सिरभित्र हिउँदेबाली लगाइसक्नुपर्छ । गहुँमा ३ पटक मल हाल्ने गरिन्छ । गहुँ छर्दा नै डिएपी हाल्ने गरिन्छ । त्यसपछि २१ देखि २९ र ४५ देखि ६० दिनभित्र युरिया छर्नुपर्ने किसानहरू बताउँछन् ।
कृषि सामग्री कार्यालय विराटनगरका सूचना अधिकारी कमल पोखरेलले बुधबारसम्म मोरङको लागि ६ हजार पाँच सय केजी मल मौज्दात रहेको बताए । मोरङमा २ सय ४३ वटा बिक्री केन्द्र रहेको जानकारी दिँदै अहिले ६० बोराको दरले मल बिक्री गर्दै आएको बताए । ‘आएको मल हामीले आवश्यकताअनुसार बिक्री वितरण गर्दै आएका छौं’ उनले भने, ‘अबको १५ देखि २० दिनमा डिएपी मल आउँदैछ । अब डिएपी मल ४ हजार मेट्रिक टन आउनेछ ।’ जिल्लामा ८ गाउँपालिका, ८ नगरपालिका र एक उपमहानगर गरी १८ वटा पालिका रहेका छन् । धनपालथान र जहदाका मात्र होइन, अन्य पालिकाहरूमा पनि मल अभाव भएको किसानहरूले बताएका छन् । कृषि सामग्री केन्द्रका कर्मचारी पोखरेलका अनुसार विशेषगरी धनपालथान, जहदा, रङ्गेली, रतुवामाई, कटहरी र विराटनगरको वडा नं. १४, १५, १६, १७ र १८ नं. मा मल अभाव भएको छ ।
साल्ट ट्रेडिङका विराटनगरका प्रादेशिक कार्यालय प्रमुख राधाश्याम चौधरीले युरिया र डिएपी मल नभएको बताए । यसअघि मङ्सिरसम्म आएको मल बिक्री वितरण भएको उनले सुनाए ।
मोरङका
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कृषि सामग्री कम्पनी र साल्ट
ट्रेडिङ कर्पोरेसनसँग बुझेर मौज्दात भए आवश्यकताअनुसार कृषकहरूलाई मल
बिक्री वितरण गर्न निर्देशन दिने बताए ।