विराटनगर । बिरामीलाई जाँच गरिरहेको बेला नाक, कान, घाँटी रोग विशेषज्ञ डा. मदन कोइरालालाई अचानक छाती, चिउँडो र पातो दुख्यो । तत्कालै पेनकिलर खाए । त्यसले पनि जाती नभएपछि ओपिडी बन्द गरेर इसिजी र रगतका केही जाँच गरे ।

रिपोर्ट दिउँसोतिर मात्रै आयो । रिपोर्ट हेरेपछि उनले हृदयाघातको आशङ्का गरे । घर नजिकैको न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पताल गए । अस्पतालका कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठलाई स्वास्थ्यबारे बताए । फेरि इसिजी गरियो । इसिजीबाट मुटुको रगत नलीको एउटा भल्भ बन्द भएको खुल्यो । ‘हृदयाघात भएको १–२ घण्टाभित्रमा हस्पिटल आएँ । क्याथल्याव लगियो र एन्जियोप्लाष्टी गरेर बन्द भएको मेरो मुटुको भल्भ खोलियो’ बुधबार डिस्चार्ज भएपछि उनले भने, ‘मेरा घरका सबैजसो डाक्टर छन् । उनीहरूसँग पनि कुराकानी भयो । त्यसपछि डा. निकेशराजलाई भेट्ने निधो गरे ।’ उनका अनुसार एन्जियोप्लाष्टी गरेर अहिले एउटा स्टेन लगाएको छ । स्वास्थ्यमा धेरै सुधार भएको छ ।

उनले न्यूरोको क्याथल्याव गङ्गालाल, मनमोहन वा अन्य विकसित मुलुकको जतिकै रहेको बताए । ‘हृदयरोग देखिएपछि जतिसक्दो हस्पिटल जानुपर्ने हुन्छ । जति ढिलो भयो त्यति छिटो मुटु बिग्रन सक्छ । मलाई काठमाडौँ पनि बोलाइएको थियो । तर, डा. निकेशराजले त्यहाँ जत्तिकै राम्रो गर्नुहुन्छ भन्ने मलाई विश्वास थियो । अहिले आएर त्यो प्रमाणित भयो’–उनले भने । डा. निकेशराजका अनुसार डा. कोइरालाको एन्जियोग्राम गर्दा मुटुको एउटा रगत नली भल्भ बन्द रहेको पाइएको थियो । ‘एन्जियोप्लाष्टी गरेर ब्लक भएको रगत नली खोलिएको छ । ब्लक भएको रगतको नली खोलिएपछि मुटुको मांसपेशीले रगत पाएपछि मर्न लागेको मुटुको भागलाई बचाउन सकिन्छ’–डा. श्रेष्ठले भने ।

न्यूरोमा विशेषज्ञ चिकित्सकसहितको ‘क्याथल्याव’ सञ्चालनमा ल्याएपछि मुटुरोगीका बिरामीको उपचारमा सफल हुँदै गएको छ । मुटुमा जटिल समस्या भएका बिरामीलाई कोरोनरी तथा रेनल एन्जियोग्राफी, एन्जियोप्लाष्टी र पेसमेकर प्रत्यारोपण गर्दै आएको छ । न्युरोमा मुटुको भल्भमा पर्ने प्वालको परीक्षण, मुटुका नलीमा जम्ने रगत खोल्ने उपचार पद्दतिदेखि मुटुमा ब्याट्री राख्ने बिरामीहरूको उपचार हुँदै आएको छ । असन्तुलित खानपान तथा शारीरिक व्यायामको अभावले हृदयाघात निम्त्याउने गरेको छ । बिरामीको बायाँ भागतर्फको छाती क्रमशः दुख्दै दायाँ हाततर्फ सरेमा तत्काल विशेषज्ञ चिकित्सकसम्म पुग्नुपर्ने डा. श्रेष्ठले आग्रह गरे ।