धरान । २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपमा उपाधि होडमा साविक विजेता न्यूरोड टिम (एनआरटी) क्लब काठमाडौँले लिग लिडर चर्च ब्वाइज क्लब काठमाडौँसँग भेट पक्का गरेको छ ।

धरान रङ्गशालामा बिहीबार सम्पन्न खेलमा एनआरटीले पाहुना टोली भारतको युकेएफसीलाई सहजै पराजित गर्दै उपाधि होडमा पुगेको हो । उसले ३–१ गोलअन्तरले पराजित गरेको छ । २५ औँ बूढासुब्बामा पहिलो र दोस्रो खेल झिनो गोलअन्तरले पराजित हुँदा दुई सेमीफाइलनसहित चार खेलमा फराकिलो गोलअन्तर भएको छ । पाहुना टोलीलाई ३–१ गोलले हराउँदा एनआरटीका प्रदीप बुढाथोकीले व्यक्तिगत दुई गोल गर्दै चम्किए ।

लिग लिडर चर्च ब्वाइजले भने पहिलो पटक सहभागी भएको अर्को पाहुना टोली भुटानको आरटीसीलाई ७–० गोलको फराकिलो अन्तरले हराउँदै उपाधि होडमा पुगिसकेको छ । बिहीबार नै पोखरामा सम्पन्न आहा राराको २४ औँ संस्करणमा भने चर्च ब्वाइजले एनआरटीलाई पराजित गरिसकेको छ । दुई ठूला प्रतिस्पर्धा भएका कारण एनआरटी र चर्च ब्वाइजका खेलाडीहरू बाँडिएका छन् । बूढासुब्बामा सहभागी चर्च ब्वाइजमा राष्ट्रिय खेलाडीहरू सहभागी छन् । त्यस्तै आहा रारा गोल्डकपमा सहभागी एनआरटीका राष्ट्रिय खेलाडी आबद्ध थिए ।

एनआरटीले अबको खेलमा पोखरामा बेहोरेको हारलाई बदला लिने गरी मैदानमा उत्रिँदै छ । यता चर्च ब्वाइजले पोखराको जितलाई यथावत् राख्न चाहन्छ । एनआरटीले बिहीबारको खेलमा पाहुना टोलीले गरेको गल्तीको फाइदा उठाउन सफल भयो । खेलमा पहिलो गोल एनआरटीका शिशिर लेखीले २८ औँ मिनेटमा गरे । उनले उत्तर–पूर्वी मैदानबाट वान भर्सेस वान लगेर ठूलो डिबक्सको छेउबाट बायाँ खुट्टाले गरेको प्रहारले सिधैँ जाली चुम्यो । तीन मिनेट नबित्दै युकेएफसीका बायाँ विङ्गर नवोदीप नर्जिनरीले गरेको सानो डिबक्स क्षेत्रबाट गरेको प्रहार गोललाइनमा पुगेपछि फरवार्ड हेमराज भुजेलले गोल गर्दै बराबरीमा ल्याए ।

बराबरी गोल फर्काएपछि भने फिप्टी–फिप्टीको पोजिसनमा खेलिरहेको बेला ४५ औँ मिनेटमा युकेएफसीका मुख्य रक्षापङ्क्तिका खेलाडी आकाश प्रधानले गोलरक्षक रूपक कोयालाई पास दिने क्रममा गल्ती गर्दा त्यसको फाइदा एनआरटीका प्रदीप बुढाथोकीले उठाए । त्यसपश्चात् २–१ को अवस्थामा दोस्रो हाफमा प्रवेश गरेको युकेएफसीले पुनरागमन गर्न सकेन । खेलको ७६ औँ मिनेटमा थप अर्को गोल खान पुग्यो । जसमा शिशिर लेखीको पासमा प्रदीप बुढाथोकीले गोल गरे । युकेएफसीले दोस्रो पटक पनि सेमीफाइलनबाटै घर फर्किनु परेको छ । यसअघि पनि सेमीफाइनलमा पुगेर हार बेहोरेको थियो । खेलको म्यान अफ दी म्याच शिशिर लेखी घोषित हुँदै नगद १० हजार रुपैया पाएँ । यसअघिको खेलमा पनि शिशिर म्यान अफ दी म्याच घोषित भएका थिए ।

फाइनल खेल शनिबार हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ । बूढासुब्बामा एनआरटी फेरि पनि उपाधि जित्ने सपना बोकेर शनिबार मैदानमा उत्रिँदै छ भने चर्च ब्वाइज पहिलो पटक उपाधि जितेर बूढासुब्बामा नयाँ इतिहास रच्ने सपना पालेको छ । बूढासुब्बा गोल्डकपमा पाँच पटक विदेशी टिमले उपाधि जितेको छ भने अन्य सबै काठमाडौँका क्लबले जितेको अवस्था छ । यो पटक पनि बूढासुब्बा गोल्डकप काठमाडौँकै टिमले लाने भएको छ ।