धरान । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
सहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले बिहीबार उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । ५४ लाख धरौटी माग गर्ने आदेश भएको अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
कास्की, काठमाडौं र रूपन्देहीमा रविविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो ।
रवि लामिछाने, रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२
जनालाई सङ्गठित अपराध कसूरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल
कार्यालयले जनाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड
९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न
कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो
कायम हुनुपर्ने राय प्रहरीको छ ।