धरान । यतिबेला धरानमा देशकै नाम चलेको प्रतिष्ठित फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २५ संस्करण चलिरहेको छ । देशविदेशका खेलाडीहरूको धरानमा उत्सव चलिरहेको छ । यो प्रतियोगिता माघ २६ गते समापन हुँदैछ ।

‘मिनी ब्राजिल’ को रूपमा चिनिएको धरानमा यो फुटबल उत्सव सकिएलगत्तै फेरि कोशी प्रदेश फुटबल सङ्घको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा प्रदेशस्तरीय फुटबल प्रतियोगिता ‘कोशी प्रोभिन्स प्रिमियर लिग–२०८१’ यही माघ २८ गतेदेखि धरान रङ्गशालामा आयोजना हुने भएको छ । प्रदेशकै गौरवको उक्त प्रतियोगितामा जिल्लाका उत्कृष्ट क्लबहरू सहभागी हुन पाउने आयोजक कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिएका छन् ।

पाँच वर्षअघि यही प्रकृतिको प्रतियोगिता ‘मुख्यमन्त्री कप’ नाम दिएर प्रदेशको राजधानी विराटनगरमा हुँदा त्यसको कुनै महŒव र क्लबहरूको लागि प्राथमिकताको प्रतियोगिता बन्न सकेको थिएन । हाल फुटबलमा लामो समय काम गरेका अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय मानार्थ उपाध्यक्षसमेत रहेका किशोर राईको सक्रियतामा राष्ट्रिय लिगसँग जोड्ने गरी प्रतियोगिता सम्पन्न गर्ने तयारी भएको छ ।

यो प्रतियोगितामा प्रदेशका ११ वटा जिल्लाका उत्कृष्ट ११ वटा क्लबहरू सहभागिता जनाउने भएका छन् । उनका अनुसार धरान फुटबल क्लब सुनसरी, देउराली युवा क्लब धनकुटा, रेडहर्स फुटबल क्लब इलाम, गाईघाट फुटबल क्लब उदयपुर, बुइपा–११ स्पोर्टिङ क्लब खोटाङ, लोहरुङ पाङ्मा युथ क्लब सङ्खुवासभा, धाइजन चारआली फुटबल क्लब झापा, सम्राट स्पोर्टिङ क्लब मोरङ, लाइब्रेरी फुटबल क्लब भोजपुर, ताप्लेजुङ प्रगतिशील क्लब र युनाइटेड क्लब पाँचथरले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

‘सुरुमा सिङ्गल लिग हुन्छ । चारवटा पोलबाट आएका टिमबाट सुपर लिग हुनेछ । सुपर लिगबाट टप ४ टिमलाई पुरस्कृत गरिनेछ’ अध्यक्ष राईले भने, ‘प्रतियोगितामा विजेता र उपविजता टिमले निकट समयमा हुने प्रादेशिक प्रेसिडेन्ट कपमा खेल्ने अवसर पाउनेछन् ।’ उनका अनुसार ६ वटा प्रदेशबाट एक–एक टिम र कोशी प्रदेशका दुईवटा टिमले प्रादेशिक प्रेसिडेन्ट कपमा सहभागिता जनाउन पाउनेछन् ।

यो प्रादेशिक प्रेसिडेन्ट कपबाट छानिएका उत्कृष्ट चार टिमले सिधै राष्ट्रिय लिगमा सहभागी हुन पाउने अधयक्ष राईले बताए । धरान फुटबल क्लबको टिमलाई यो सिजनमा राष्ट्रिय लिगमा सहभागी गराउने गरी तयारी गरिएको धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताए । प्रदेशको प्रतियोगिता धरानमा हुनु धरानको फुटबलका लागि मात्र नभई खेल पर्यटनका लागि पनि महŒवपूर्ण सावित हुने स्थानीयको भनाइ छ ।

चारसय बढी खेलाडीहरूको जमघट
११ वटा जिल्लाका राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीहरूको धरानमा जमघट हुनेछ । एउटा टिमबाट कम्तिमा पनि ३०–३५ जना खेलाडीहरू आउने आयोजकले जनाएको छ । यो प्रतियोगिता   धरानको खेल पर्यटनमा पनि कोसेढुङ्गा सावित हुने अध्यक्ष राईले बताए । ‘४ सय २० जना खेलाडी, अफिसियलहरूको सहभागिता हुने छ । खेलाडी, अफिसियलहरूको फिफा कनेक्टअनुसार सहभागिता हुनेछ’–राईले भने । कुन खेलाडी कुन क्लबमा खेलिरहेका छन् भन्ने त्यसको अग्रिम जानकारी राखिने आयोजकले जनाएको छ ।

प्रतियोगिता गरेर मात्र हुँदै व्यवसायी खेलाडी उत्पादनलाई ध्यान दिनुपर्ने उनको भनाइ छ । क्लब र खेलाडी आर्थिकरूपमा सबल बनाउने योजना राज्यले ल्याउनुपर्ने उनले बताए । तीनै तहका सरकारले खेलाडीहरूलाई आर्थिकरूपमा सबल बनाउन योजना ल्याउनु पर्ने उनको भनाइ छ । ‘भारतले ‘खेलौं इण्डिया’ भनेर कलेजस्तरमा चलाएको अभियानमा नेपाली झण्डै १६ अर्ब रकम छुटाएको छ, त्यो पनि एक वर्षका लागि । नेपालले पनि खेल विकासका लागि लगानी गर्न डराउनु हुँदैन’–अध्यक्ष राईले भने ।