सुनसरी। सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पताल सुनसरीले
स्वास्थ्य बिमा बापतको करिब ६ करोड रकम शोधभर्ना नपाएपछि अस्पताललाई आर्थिक
समस्या भएको छ ।
बिमा बोर्डले २०८० चैत महिनादेखिको बक्यौता रकम
भुक्तानी नगरेपछि आर्थिक अभावका कारण अस्पताल समस्यामा परेको मेडिकल
सुपरिटेन्डेन्ट डा. अभिताव ठाकुरले जानकारी दिए । अस्पतालमा आर्थिक अभावकै
कारण ओपिडी सेवा, औषधि, ल्याव, एक्स–रेलगायत सेवा प्रभावित हुन थालेका छन् ।
‘करिब ६ करोड रकम अस्पतालले बिमा बापतको भुक्तानी पाएको छैन । अघिल्लो
आर्थिक वर्षको लगभग ४ महिनाको र यो आर्थिक वर्षको अहिलेसम्म गरेर झण्डै १
वर्ष भनौँ न, त्यति समयको भुक्तानी हामीले पाएको छैन’ डा. ठाकुरले प्रश्न
गर्दै भने, ‘औषधि, ल्याव केमिकल, एक्स–रेलगायत स्वास्थ्योपचारमा आवश्यक
पर्ने जति पनि सामग्री आपूर्तिकर्ता हुनुहुन्छ, उहाँहरूको भुक्तानी समयमा
गर्नैप¥यो । करार, ज्यालादारी कर्मचारीको भुक्तानी गर्नैप¥यो । वर्ष
दिनसम्म बिमाको पैसा नआएपछि कसरी धान्न सक्नु ?’
बिमा बोर्डले रकम
भुक्तानी गर्ने आशामा अस्पतालले आफ्नो आन्तरिक आम्दामीको अधिकांश हिस्सा
बिमा बापतको सेवामा खर्च गरेको छ । तर भुक्तानी नपाउँदा अस्पतालले
कर्मचारीलाई तलबसमेत दिन नसक्नेगरी चरम् आर्थिक सङ्कटबाट गुज्रिनुपर्ने
स्थिति सिर्जना भएको अस्पताल प्रशासनले जनाएको छ ।
उनका अनुसार आर्थिक
अभावकै कारण अस्पतालले ल्याव टेष्टहरू धान्न मुस्किल पर्न थालेको छ । मेसु
डा. ठाकुरले भने, ‘थाइराइड, भिटामिन डी, बी–१२ लगायतका टेष्टहरू धान्न
समस्या भइरहेको छ । अस्पतालले तिर्न बाँकी विभिन्न सप्लायर्सले भुक्तानीका
लागि दबाव दिइरहनुभएको छ । बिमा बोर्डले चाँडै बक्यौता पठाएन भने
स्वास्थ्योपचारमा आवश्यक पर्ने सामग्रीको आपूर्तिमा समस्या हुन्छ ।’
स्वास्थ्य
बिमा कार्यक्रम अन्तर्गत अस्पतालले ओपीडी, इमर्जेन्जी, ल्याव, अन्तरङ्ग,
शल्यक्रिया, एक्स–रेलगायत उपचार सेवा र सरकारले तोकेअनुसारको औषधि उपलब्ध
गराउँदै आएको छ । तर आर्थिक सङ्कटका कारण कतिपय सेवाहरू बन्द हुनुका साथै
बिरामीहरू अधिकांश औषधि निजी क्लिनिकमा किन्न बाध्य हुन थालेका छन् । ५०
बेडको इनरुवा अस्पतालमा जम्मा १ सय २० जना कर्मचारी कार्यरत छन् । जसमध्ये
करिब ५७ जना कर्मचारी करार र ज्यालादारीमा कार्यरत छन् । तलब–भत्तामा
मात्रै अस्पतालको मासिक झण्डै २० लाख खर्च हुने मेसु डा. ठाकुरले बताए ।