धरान । कोशी प्रदेश प्रिमियर लिग फुटबल सोमबारबाट धरान रङ्गशालामा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री षडानन्द मण्डलले गरे । उद्घाटनमा एकै दिन दुई खेल सम्पन्न भएका छन् । प्रतियोगितामा उदयपुरको गाईघाट फुटबल क्लब र ताप्लेजुङको प्रगतिशील युवा क्लब विजयी बनेका छन् । गाईघाटले भोजपुरको लाइब्रेरी फुटबल क्लबलाई ३–० गोलले हराएको छ । विजयी गाईघाट टिमले तीन अङ्क जोड्दै समूहको शीर्षस्थानमा रहेको छ । गाईघाट समूह बीबाट प्रतिनिधित्व गरेको टिम हो । गाईघाटका लागि प्रविन राईले दुई गोल गर्दा प्रितम चौधरीले एक गोल गरे । खेलमा म्यान अफ दी म्याच प्रविन घोषित हुँदै नगद पाँच हजार रुपैयाँ पाए ।
दोस्रो खेलमा सुनसरीको धरान फुटबल क्लबलाई २–१ गोलअन्तरले हराउँदै प्रगतिशील युवा क्लब विजयी भएको छ । समूह डीमा रहेको प्रगतिशीलले तीन अङ्क जोडेको छ । खेलमा ताप्लेजुङबाट सविन तामाङ र अनुप सेन्दोङले गोल गरे । यता धरानबाट सविन राईले सान्त्वना गोल गरे । खेलको म्यान अफ दी म्याच प्रगतिशीलका सविन तामाङ घोषित हुँदै नगद पाँच हजार रुपैयाँ पाए ।
कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा सुरु भएको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म सञ्चालन हुने अध्यक्ष किशोर राईले जानकारी दिए । उनका अनुसार लिगमा चारवटा समूहमा विभाजन गरिएको छ । ११ वटा जिल्लाका जिल्ला च्याम्पियन टिमहरू सहभागी छन् ।
अध्यक्ष राईका अनुसार
प्रतियोगिता विजेताले दुई लाख रुपैयाँ, उपविजेताले एक लाख ५० हजार, तेस्रो
हुने टिमले एक लाख २५ हजार र चौथो हुने टिमले नगद एक लाख रुपैयाँसहित ट्रफी
पाउने छन् । अध्यक्ष राईले फुटबल खेललाई व्यावसायिक बनाउँदै लाने
योजनाअनुरूप पहिलो पटक लिग खेलाउन थालिएको बताए । यता प्रमुख अतिथिको
सम्बोधन गर्दै मन्त्री मण्डलले धरानमा खेल पर्यटनको अपार सम्भावना रहेको
बताए ।