विराटनगर । नेपाल औषधि व्यवसायी सङ्घ मोरङका थोक उपाध्यक्ष जितेन्द्रकुमार रजक (जितु) ले सरकारी जग्गा हडपेर व्यावसायिक निजी संरचना बनाएको पाइएको छ ।
विराटनगर महानगरपालिका–१६ स्थित विराटनगर जुट मिलभित्रको हनुमान मन्दिर जाने सडकको सरकारी जग्गा कब्जा गरेर रजकले बनाएको संरचना महानगरपालिकाले भत्काएको छ । विराटनगर महानगरपालिकाबाट खटिएको प्राविधिक अमिनले नापजाँच गर्दा रजककी पत्नी शीतल पाण्डेको नाममा रहेको कित्ता नं. १६१, १६३, १६४, १६६ र १८२ देखि उत्तर कुनाको १७ फिट, दक्षिण कुनामा १७ फिट, पूर्वतर्फको दक्षिण कुनादेखि उत्तर कुनासम्म ५८ फिट लम्बाइको बाटो मिचेर संरचना बनाएको पाइएको महानगरपालिकाको न्यायिक समितिले २६ मङ्सिरमा गरेको फैसलामा उल्लेख छ । न्यायिक समितिका संयोजक तथा विराटनगर महानगरपालिकाको उपप्रमुख शिल्पा निराला कार्की, सदस्यहरू रूपा पाण्डे देउजा र तीर्थेन्द्र नेउपानेको इजलासले गरेको फैसलाको प्रमाणीकरण ९ पुसमा भएको छ ।
‘कित्ता नम्बर १६१, १६३, १६६ र १८२ विपक्षी जितेन्द्रकुमार रजककी पत्नी शीतल पाण्डेको नाममा दर्ता श्रेस्ता कायम रहेको मिसिल संलग्न कागज प्रमाणबाट देखिन आएबाट विपक्षी रजकले सार्वजनिक बाटो अतिक्रमण गरेकै देखियो । मुलुकी देवानी संहिता, २०७४ को दफा ३०४ को उपदफा (२) मा सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानीय तहको हुनेछ भनी प्रष्ट कानूनी व्यवस्थासमेत रहेको छ । उल्लेखित आधार, प्रमाण र कारणबाट विपक्षीले सार्वजनिक बाटोको जग्गा अतिक्रमण गरी टहरा निर्माण गरेको देखिन आएकोले उक्त मिचेको बाटोको भूभाग हटाई सार्वजनिक बाटो खुलाउन पाउने ठहर्छ’ महानगरपालिकाको न्यायिक समितिले गरेको फैसलामा उल्लेख छ ।
रजकले सरकारी
जग्गा हडपेर संरचना बनाएपछि मन्दिर जाने बाटो बन्द भएको भन्दै विराटनगर–१६
का नेपाल फुल कन्ट्याक कराते प्रशिक्षणसहित १ सय २३ जनाले महानगरपालिकामा
२६ कात्तिकमा ‘सार्वजनिक बाटो अतिक्रमण गरेको’ भनेर उजुरी दिएका थिए ।
उजुरी परेको एक महिनापछि न्यायिक समितिले फैसला गरेको हो । फैसला गरेपछि
महानगरपालिकाले नगर प्रहरी परिचालन गरेर रजकले सार्वजनिक जग्गा हडपेर
बनाएको संरचना केही दिनअगाडि भत्काएको छ । महानगरपालिकाले डोजर लगाएर
सरकारी जग्गामा बनाएको संरचना भत्काएको हो । यता जग्गाधनी रजकका परिवारले
भने प्रशासनको आडमा आएर जबरजस्ती आफूहरूले किनेको जग्गामा बनाएको संरचना
भत्काएको भन्दै कानूनी प्रक्रियामा जाने बताएका छन् ।