धरान । सुनसरीको धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल
प्रतियोगितामा समूह डीबाट बुइपा ११ खोटाङ समूहको शीर्षस्थानमा उक्लिएको छ ।
बुधबारको खेलमा प्रगतिशील युथ क्लब ताप्लेजुङलाई १–० गोलले हराउँदै बुइपा ११ समूहको शीर्षस्थानमा उक्लिएको हो । खेलमा जीवन परियारले निर्णायक गोल गरे । बुइपाका गोलरक्षक नवीन पोखरेल म्यान अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार रुपैयाँ पाए ।
समूह डी अन्तर्गत ताप्लेजुङको प्रगतिशील युथ क्लब र सुनसरीको धरान फुटबल क्लबबीच भएको खेलमा दुवै टिमले खेल नियम विपरीत खेलाडीलाई समावेश गरेको भन्दै उजुरी परेपछि दुवै टिमको अङ्क खोसिएको कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिए । दुवै टिमको अङ्क खोसिएपछि बुइपा ११ समूहको शीर्षस्थानमा उक्लिएको हो । दुवै खेलमा अङ्कविहीन बनेपछि ताप्लेजुङको प्रगतिशील प्रतियोगिताबाट बाहिरिएको छ । बुइपा ११ ले धरान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
बुइपा ११ ले बराबरी खेले मात्रै पनि समूह विजेता बन्नेछ । यता धरानले भने कम्तीमा पनि दुई गोल गरे मात्रै समूह विजेता बन्नेछ । यता समूह बीबाट समूह विजेता बन्दै उदयपुर गाईघाट फुटबल क्लबले अन्तिम चारमा स्थान बनाएको छ । बुधबारको खेलमा मोरङको सम्राट स्पोर्टिङ क्लबलाई १–० गोलले हराउँदै गाईघाट समूह विजेता बनेको हो ।
गाईघाटका लागि एक मात्रै गोल प्रवीन राईले गरे । खेलको म्यान अफ दी म्याच गाईघाटका गोलरक्षक अनिल मगर घोषित हुँदै नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । गाईघाटले पहिलो खेलमा भोजपुरको लाइब्रेरी फुटबल क्लबलाई पराजित गर्दै समूह विजेता बनेको हो । उसले ६ अङ्क बटुलेको छ । तीन अङ्क मात्रै जोडेको सम्राट भने प्रतियोगिताबाट बाहिरिएको छ ।
आज (बिहीबार) समूह सीअन्तर्गत धनकुटाको देउराली युथ क्लब र इलामको रेडहर्ष क्लबबीच प्रतिस्पर्धा हुँदै छ । यस्तै समूह ए अन्तर्गत सङ्खुवासभाको लोहरुङ फुटबल क्लब र पाँचथरको पाँचथर युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै छ । समूह ए मा दुई टिम मात्रै रहेकोले यो खेलबाटै समूह विजेता टुङ्गो लाग्नेछ ।
कोशी प्रदेश फुटबल
सङ्घको आयोजनामा फागुन ८ गतेसम्म चल्ने प्रतियोगितामा ११ जिल्लाका
च्याम्पियन क्लबहरू सहभागी छन् । लिगको विजेता र उपविजेता टिम राष्टिङ्य
लिगको छनौटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्न छनौट हुनेछन् । लिग
विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५
हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।