विराटनगर । शुक्रबार बिहानको राति । कोशी राजमार्गसँगै जोडिएको विराटनगर महानगरपालिका–३ पीपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा.लि.ले सञ्चालन गरेको फोक्स वागन कम्पनीको शोरुम छ ।
बिहानको राति १ बजेर १७ मिनेटमा उक्त शोरूममा एक व्यक्ति सिसा फोडेर भित्र छिर्छन् । शोरुममा रहेको एउटा मात्रै गाडीमा सामानहरू हाल्छन् । त्यसपछि शोरुमको रातो कलरको कार लिएर उनी निस्कन्छन् । यो घटना शोरुम सञ्चालकले शुक्रबार बिहान ८ बजे मात्रै पसल खोल्न जाँदा थाहा पाउँछन् । त्यसपछि उनी नयाँ गाडी चोरिएको भन्दै बिहान करिब ९ बजे प्रहरीलाई खबर गर्छन् ।
गाडी चोरी भएको खबर पाएसँगै मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियासहित प्रदेश प्रहरीको टोलीले घटनाको अनुसन्धान अगाडि बढाउँछ । शुक्रबार दिउँसो सुनसरीमा शङ्कास्पद अवस्थामा गाडी रहेको खबर प्रहरीले पाउँछ । सूचना पाएलगत्तै प्रहरी टोली गढी गाउँपालिका–५ को भित्री सडक–खण्ड पुग्छ ।
जहाँ शोरुमबाट हराएको बा ०१३० च ८५८१ नम्बरको रातो नयाँ कार फेला पर्छ । कार चोरीमा संलग्न गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बिन यसअघि पनि चोरी आरोपमा पक्राउ परेका व्यक्ति रहेको मोरङ प्रहरीको अभिलेखमा देखिन्छ ।
कारमा पेट्रोल सकिएपछि पक्राउ परे बिन
प्रहरीका
अनुसार मन्तोषले शोरुमबाट कार चोरी गरेपछि एयरपोर्ट रोडभित्र प्रवेश गरेका
छन् । त्यसपछि उनी कञ्चनबारी हुँदै फेरि नोबेल अस्पतालको पछाडि इक्राही
हुँदै उनको गाउँ गढी गाउँपालिका–५ मा शुक्रबार बिहान पुगेको प्रहरीले
बताएको छ ।
‘गाउँमा चिया खाँदै बिनले नयाँ गाडी लिएर आएँ भन्दै गफ दिने गरेका थिए । गाउँमा चिया खाएपछि उनी गाडी लिएर सुनसरीको बोर्डरबाट भारत जाने सोचमा थिए । तर, पेट्रोल सकिएकै कारण अघि बढ्न नसक्दा उनी पक्राउ परेका हुन्’– घटनाको अनुसन्धान गर्दै आएका मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले भने ।
गाडीसँगै चाबी पनि राख्ने गरिएको कारण
कार चोरी भएको प्रहरीले बताएको छ । चोरी भएको कारको मूल्य ८० लाख पर्छ ।
मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीका अनुसार पक्राउ
परेका बिनमाथि आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको छ । बिनले शोरुमको
सिसा फुटाउन सानो कङ्क्रिटको ब्लक प्रयोग गरेको प्रहरीको भनाइ छ ।
शोरुमभित्र एउटा मात्रै गाडी रहेको र अन्य सामान नहराएको बताइएको छ ।
गाडीसँगै चाबी पनि राख्ने गरिएका कारण चोरेर लैजानलाई सजिलो भएको पाइएको
इन्स्पेक्टर ओलीले बताए ।