धरान । सुनसरीको धरानमा ‘नो केबलकार’ समूहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसमाथि कमेन्ट गर्दै आएका एक व्यक्तिमाथि कालोमोसो दलेर हातपातको प्रयास भएको छ ।
ताप्लेजुङ घर भई हाल धरान बस्दै आएका पदम चेन्जी माबोलाई मुक्कुमलुङ पक्षधरहरूले कालोमोसो दलेर हातपातको प्रयास गरेका हुन् । धरान उपमहानगरपालिका–२ को एक होटलमा याक्थुङ चुम्लुङको महाधिवेशनबारे जानकारी दिन लागिएको पत्रकार सम्मेलनमा पुगेर नो केबलकार पक्षधर समूहकाहरूले माबोलाई कालोमोसो दलेका हुन् । नो केबलकार समूहले फेसबुकमा लेखेको विषयमाथि गलत कमेन्ट गर्दै आएको आरोप लगाउँदै आएका छन् । उनी भने केबलकार बन्नुपर्छ भन्ने पक्षधर रहेको उनीहरूको आरोप छ । कालोमोसो दल्नेमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘नो केबलकार पक्षधरले लेखेको
स्ट्याटसमा कमेन्ट गर्दै गाली गरेको छ । सम्झाउनका लागि त्यहाँ पुगेका
थियौँ’ कार्यक्रममा पुगेका मुक्कुमलुङ पक्षधर अमर इजमले भने, ‘कालोमोसो
कसले दल्यो थाहै भएन । युवा केटाहरू गुरुरु आएका थिए । आक्रोसित भीडले के
के गरे ।’ उनले कालो मोसो दल्ने काम चाहिँ गलतै भएको बताए । उनले आफूहरूलाई
प्रहरीले विना जाहेरी नै पक्राउको प्रयास गरिरहेको बताए । केबलकार पक्षधर
माबो भने चुम्लुङका उपाध्यक्ष छन् । दुव्र्यवहार भएको स्थलमा नागरिक
उन्मुक्ति पार्टीका नेता अमर इजम, जसपाका युवा नेता सुमन चेम्जोङलगायत
पुगेका थिए । चुम्लुङको धरानमा हुन लागेको महाधिवेशशनको बारेमा जानकारी दिन
पत्रकार सम्मेलन गरिने क्रममा माबोलाई कालोमोसो दलिएको थियो ।
माबोलाई
‘वंश गद्दार’ भन्दै हातपातको प्रयास भएको थियो । उनलाई माफी पनि माग्न
लगाइएको थियो । उनले त्यसक्रममा माफीसमेत मागेका थिए ।
यता पीडित पदम चेन्जी माबोले आफूमाथि कुन नियतले घटना घटाए आफूलाई थाहा नभएको बताए । तर, १५–२० जना एक्कासि आएर नाराजुलुस लगाउँदै लछारपछार र हातपात गरी कालोमोसो दल्ने काम गरिएको उनले बताए । उनले भने, ‘हाम्रो दोस्रो महाधिवेशन सम्पन्न भएपछि त्यसको बारेमा पब्लिकलाई जानकारी दिन पत्रकार सम्मेलन गरिएको थियो । दिउँसो करिब १२ बजेको थियो होला । एक्कासि आएर नाराजुलुस लगाउँदै हातपात, लछारपछार पार्ने र कालोमोसो दल्ने काम गरियो ।’
उनले ती व्यक्तिहरूसँग
आफ्नो व्यक्तिगत चिनजान पनि नरहेकोले व्यक्तिगत रिसइबी र आक्षेप नरहेको
बताए । उनले आफूले अहिलेसम्म प्रहरीमा जाहेरी नदिएको पनि बताए । सामाजिक
सञ्जालमा टिकाटिप्पणी गरिएको विषयमा कालोमोसो दलेको भन्ने कुरा आएछ भन्ने
जिज्ञासामा उनले भने, ‘सञ्जालमा टिकाटिप्पणी हुन्छ । मलाई लागेको कुरा
सञ्जालमा राख्न पाइन्छ होला नि । त्यहाँ जो कोहीले राख्न पाइन्छ होला ।
सञ्जालमा टिकाटिप्पणी गरेको आधारमा कुटपिट गर्नु, लछारपछार गर्नु र मोसो
दल्न त पाइँदैन होला नि ।’
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता
इन्स्पेक्टर दिनेश अधिकारीले प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने तयारी
गरेको बताए । उनले भने, ‘चित्त नबुझ्न पाउँछ । सार्वजनिक ठाउँमा कालोमोसो
दल्ने काम त गलत हो । गल्ती गरेकाहरूलाई पक्राउ गरेर मुद्दा चलाउने तयारी छ
।’ जिल्ला प्रहरीबाट पक्राउ गर्नका लागि निर्देशन गइसकेकाले पक्राउ हुने
बताए ।
मुक्कुमलुङमा केबलकार निर्माण हुन थालेपछि विरोध हुँदै आएको छ ।
गत कात्तिकमा केबलकार निर्माण पक्षले शिलान्यास गरेको थियो । शिलान्यास
भएको केही समयपश्चात् अर्थात् माघ १२ गतेबाट काम सुरु गरिएको थियो । काम
सुरु भएपछि मुक्कुमलुङमा केबलकार बन्न नहुने तर्क गर्दै अवरोध गरेका थिए ।
अवरोधका क्रममा प्रहरीबीच झडप भएको थियो । झडपमा विरोधी पक्षका ५ जना घाइते
बनेका थिए । त्यसमध्ये तीनजनालाई गोली लागेको थियो । त्यसयता थप आन्दोलनको
कार्यक्रम घोषित गरिएको थियो भने सरकार पक्षबाट वार्ता टोली बनाएपछि माघ
२२ गते वार्ता बसेको थियो । उक्त वार्ताबाट पनि समाधान ननिस्किएपछि अहिले
आन्दोलनकै चरणमा रहेको छ ।