सुनसरी। सुनसरीको कोशी गाउँपालिका–६ को सप्तकोशी कृषि फार्मका चार सय ४३ हाँसमा बर्डफ्लु भेटिएको छ ।

बर्डफ्लु पुष्टि भएपछि जिल्लास्थित बर्डफ्लु नियन्त्रण समितिको बैठक बसेर सङ्क्रमित हाँस नष्ट गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । बर्डफ्लु पुष्टि भएसँगै सङ्घीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले फार्मलाई केन्द्रबिन्दु मानी चार किल्ला तोकेर नियन्त्रण गर्न प्रजिअ मिश्रलाई पत्र पठाएको थियो ।

जसअन्तर्गत सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान दुई सय मिटरको दूरीसम्म, खुल्ला मैदान एक सय ५० मिटरको दूरीसम्म, खुल्ला मैदान तीनसय मिटरको दूरीसम्म चार किल्ला तोकेर निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ मिश्रले बताए ।

त्यस्तै बुधबार बर्डफ्लु नियन्त्रण समितिको बैठकले निषेधित क्षेत्र घोषणासँगै प्रचार–प्रसार र सचेतना फैलाउने, जिल्ला भेटेरिनरीमा बर्डफ्लु नियन्त्रण कक्ष स्थापना गर्ने, कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रोग फैलन नदिन विशेष ध्यान दिने तथा भारतीय नाकाहरूबाट पंक्षीजन्य सामग्रीको आयातमा थप कडाइ गर्ने निर्णय गरेको प्रजिअ मिश्रले जानकारी दिए ।