विराटनगर । ज्वरो आउँदा प्रयोग गरिने पारासिटामोल इन्जेक्सन भारतबाट अवैधरूपमा नेपाल ल्याई पूर्वी बजारमा तस्करी गर्ने गरेको खुलेको छ । 

औषधि व्यवस्था विभाग (डिडिए) मा दर्ता नभएको इन्जेक्सन गिरोहले भारतबाट सस्तोमा ल्याउने र नेपालमा ल्याएपछि चर्को मूल्यमा बिक्री हुने गरेको भेटिएको छ । औषधि व्यवसायीका अनुसार इन्जेक्सन ल्याउन ठूलै गिरोह संलग्न छन् । विना दर्ताको इन्जेक्सन बिक्री वितरण हुने गरेको गोप्य सूचना मोरङ प्रहरीले पाएको थियो ।

त्यसपश्चात् मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले डिडिएसँग समन्वय गरेपछि आइतबार अनुगमन गरिएको थियो । विराटनगरका ठूला अस्पतालअगाडिका फार्मेसीहरूले यी इन्जेक्सन बिक्री गर्दै आएको अनुगमनमा फेला परेको छ । डिडिएमा दर्ता नभएका इन्जेक्सन बिक्री भएको भेटिएपछि विराटनगरका तीनवटा फार्मेसी शिल गरिएको छ । डिडिए, मोरङ प्रहरी र वाणिज्य कार्यालयले संयुक्तरूपमा गरेको अनुगमनको क्रममा विराट नर्सिङ होमअगाडिको सदर मेडिकल हल, बथनाहा फार्मेसी र ज्ञानु फार्मेसी शिल गरिएको औषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दीपेन्द्र खड्काले बताए ।

शिलबन्दी गरिएका फार्मेसीहरूले पारासिटामोल इन्जेक्सन र फेबरामोल इन्जेक्सन बिक्री गरेको भेटिएको थियो । दर्ताविनाका औषधि अवैधरूपमा भारतबाट ल्याउने गरेको पाइएको खड्काले जानकारी दिए । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले डिडिएसँग समन्वय गरेर अनुगमन गर्दा दर्ता विनाको औषधि बिक्री गरेको भेटिएको बताए । ‘गिरोहको पनि खोजी कार्य तीव्र बनाएका छौँ’–उनले भने ।

पारासिटामोल इन्जेक्सन र फेबरामोल ज्वरो तथा दुखाइ कम गर्नका लागि दिइने इन्जिेक्सन हो । भारतमा यसको मूल्य दुई सय ४० रुपैयाँ पर्दछ भने नेपालमा एक हजार रुपैयाँसम्म बिक्री गर्ने गरेको औषधि व्यवसायी बताउँछन् । यी इन्जेक्सन नेपालमै उत्पादन हुने भएकाले डिडिएमा यसअघि नै दर्ता भइसकेको छ । सोही कारण भारतको इन्जेक्सनलाई औषधि व्यवस्था विभागले अनुमति दिएको छैन । तर, व्यापारीहरूले नेपालको ‘लेवल’ लगाई भारतीय इन्जेक्सनहरू बिक्री गर्दै आएकोसमेत भेटिएको अनुगमनमा गएका अधिकारीहरूले बताए ।