धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ग्रीन बेल्ट क्षेत्रमा धरान उपमहानगरपालिकाले निर्माण गर्दै गरेको तरकारी बजार ‘यथास्थितिमा राख्नू’ भनी उच्च अदालत विराटनगरले मङ्गलबार आदेश दिएको छ । 

धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले फागुन १५ गते तरकारी बजारका लागि भवनको शिलान्यास गरेका थिए । उक्त क्षेत्र बीपी प्रतिष्ठानभित्र पर्ने भएकाले रोक्नका लागि प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाले आग्रह गरेका थिए । तत्कालीन समयमा नगर प्रमुख राईले ‘कर्मचारीसँग आफूले कुरा नगर्ने’ भन्दै जवाफ दिएका थिए ।

नगर प्रमुख राईले एकलौटी निर्णय गरी अगाडि बढेपछि प्रतिष्ठानका रजिष्ट्रार सङ्ग्रौलाले धरान उपमहानगरपालिकाको कार्यालयलाई विपक्षी बनाउँदै उच्च अदालत विराटनगरमा उत्प्रेषण परमादेश प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालतका एक नम्बर बेन्चका न्यायाधीश ध्रुवराज नन्दले मङ्गलबार ‘यथास्थितिमा राख्नू, काम अगाडि नबढाउनू’ भनी अन्तरिम आदेश दिएका हुन् । 

नगरपालिकाको कार्यालयलाई सूचना तामेल भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश दिएको छ । विपक्षीको नाममा निवेदनको प्रतिलिपिसमेत जवाफ दिनका लागि आदेश गरेको छ । कित्ता नं. १३ रहेको उक्त जग्गा बीपी प्रतिष्ठानको स्वामित्वमा रहेको भनी निवेदकले माग पेश गरेका थिए । उक्त ग्रिन बेल्ट क्षेत्रमा तरकारी बजार लगाउने गरी संरचना निर्माण गरेको विषयमा निवेदकले श्रव्य–दृश्य सामग्री, फोटो र तत्काल काम नगर्न अनुरोध गरी प्रेषित गरेको पत्रसमेत पेश भएको भनी जानकारी गराइएको छ । तर, त्यसका बावजुद पनि धरान उपमहानगरपालिकाले तरकारी भवनको लागि शिलान्यास गरेको जनाइएको छ । 

नगर प्रमुख राईले ‘मेयर भिजन कोष’ बाट ६५ लाख ७० हजार ८१ रुपैयाँको बजेटबाट ३५ बाई १२ को व्यवस्थित १२ कोठाको तरकारी बजारका लागि भवन शिलान्यास गरेका थिए । उक्त भवन निर्माणका लागि न्यू थापा निर्माण सेवालाई ठेक्का दिएको देखिन्छ । आउँदो वैशाख २० गतेभित्र बनाइसक्ने गरी ठेक्का दिइएको निर्माणस्थलमा उल्लेखित बडापत्रमा उल्लेख गरिएको छ । धरान उपमहानगरपालिकालाई दुवै सार्वजनिक संस्था भएकोले दुवै संस्थाले आपसी छलफल र सहमतिमा जनहितको कार्य गर्दा उचित हुने व्यहोरा अनुरोध गरी पत्राचार गरिएको रजिष्ट्रार सङ्ग्रौलाले ब्लाष्टलाई बताएका थिए ।  

तत्कालीन समयमा नगर प्रमुख राईले ‘सरकारसँग यसरी कर्मचारी बोल्ने होइन, म स्वास्थ्यमन्त्रीसँग कुरा गर्छु । तपाईं जानुहोस्’ भन्दै पठाएका थिए । प्रतिष्ठान, धरानलाई तत्कालीन पूर्वाञ्चल क्षेत्रीय अस्पतालले चर्चेको जग्गा नेपाल सरकारको प.सं. ०५०÷५१, च.नं. ३०५३ मार्फत् मिति २०५०।०३।१६ को निर्णय बमोजिम कित्ता नं. १ देखि ११ सम्मको क्षेत्रफल २८२ बिघा १ कठ्ठा ३ धुर जमिनको पूर्वतर्फ वडा नं. १९ को खोल्सीधारा लाइन, पश्चिमतर्फ वडा नं. १७ को देवीथान टोल, खहरे खोल्सा र जङ्गल, उत्तरतर्फ वडा नं. १८ को शिवमार्ग, कुम्फुटोल, वडा नं. १७ को बीचघोपा लाइन र दक्षिणतर्फ सार्वजनिक जङ्गल सिमाना तोकी उक्त जग्गा रहेको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानले मूलगेटबाट पूर्व तथा पश्चिम–दक्षिणतर्फ बाउन्ड्री वाल निर्माण गर्दा पेरिफेरल रोड, ड्रेन तथा ग्रिन बेल्टको क्षेत्रलाई छोडेर मात्र अस्पतालको बाउन्ड्री वाल तयार गरिएको प्रष्ट पारेको छ । यसको कारण प्रतिष्ठानमा भविष्यमा हुने निर्माण, अस्पताल क्षेत्रको वरिपरि राख्नुपर्ने हरित वातावरणीय अवस्था तथा भैपरी आउन सक्ने विपत्ति, प्रकोप तथा आपतविपद्को अवस्थामा रहनुपर्ने हुँदा आवश्यक खुल्ला क्षेत्रको मापदण्डलाई मध्यनजर गरी उक्त क्षेत्रमा प्रतिष्ठानले हालसम्म कुनै पनि संरचना निर्माण नगरेको सङ्ग्रौलाले बिहीबार जारी गरेको अपिलमा जनाएका थिए ।