विराटनगर । मोरङको विराटनगरस्थित कोशी अस्पतालमा रेडियोग्राफर पदमा कार्यरत जितेन्द्र भनिने जितेन चौधरीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाण–पत्रसम्बन्धी आरोप–पत्र दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो । अस्पतालको सिटी स्क्यान विभागमा चौधरीको बीएस्सी तहको शैक्षिक योग्यताको प्रमाण–पत्र झुटा रहेको अख्तियारको ठहर छ । चौधरीले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सदस्य हुन् । राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको बीएस्सीको झुटा शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी रेडियोग्राफर पदमा कार्यरत रहेको आरोप लागेको छ ।

‘सो पदमा मिति २०७२ माघ १ गते नियुक्ति लिई ओहदा, लाभ र सुविधा प्राप्त गरेकोले निज जितेन चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिबाना हुन मागदाबी लिई विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरिएको’ अख्तियारले जारी गरेको सूचनामा उल्लेख छ ।