विराटनगर । प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता आज (मङ्गलबार) देखि सुरु हुने भएको छ । विराटनगर–१९ वैजनाथपुरस्थित क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ ।
कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्ता जोशीले जानकारी दिइन् । चैत १६ गतेसम्म हुने प्रतियोगितामा ६ जिल्लाका क्यानमा आबद्ध खेलाडीहरूले भाग लिएका छन् ।
जसमा सुनसरी, झापा, आयोजक मिल्स क्रिकेट क्लब एण्ड एकाडेमी, मोरङ, इलाम र उदयपुर रहेको छ । उद्घाटन खेल इलाम र उदयपुर जिल्लाबीच हुनेछ । लिगको आधारमा यो प्रतियोगिता हुनेछ । क्यानसँग आबद्ध भएका ६ जिल्लालाई समेटिएको मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीका अध्यक्ष मुरारी चौधरीले बताए ।
प्रतियोगितामा विजेता हुने टिमलाई १ लाख १ हजार रुपैयाँ र उपविजेता टिमलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एकेडेमीकी सचिव जोशीले बताइन् । म्यान अफ द सिरिज हुने खेलाडीलाई १५ हजार, बेस्ट ब्याट्समेन, बेस्ट बलरलाई जनही ११ हजार पुरस्कार रहेको छ । दैनिक हुने खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद २ हजार पाँच सय रुपैयाँ दिइनेछ ।
यस प्रतियोगिताले कोशी प्रदेशको क्रिकेट क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने सचिव जोशीको भनाइ छ । ‘कोशी प्रदेशमा लुकेर रहेका क्रिकेट प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र नयाँ खेलाडीहरू उत्पादन गर्न यो प्रतियोगिता गरिएको हो’ उनले भनिन्, ‘भव्य र सभ्य तरिकाले हुने क्रिकेट प्रतियोगिता हेर्न आउन सम्पूर्णलाई आग्रह गर्दछु ।’