काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल सरकारले बर्खास्त गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँमा बिहीबार प्रदर्शन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
निर्णय गरेको औपचारिक जानकारी भने मङ्गलबार मात्रै दिएको थियो । कुलमानलाई बर्खास्त गरेको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ । जसअन्तर्गत राप्रपाले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्दै पुनर्बहाली गर्न माग गरेको छ । उनीहरूले ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन, ‘अवस्था बदल्न व्यवस्था बदलौँ, ‘कुलमान घिसिङ हामी तिम्रो साथमा छौँ’ लगायतका प्लाकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । राप्रपाको प्रदर्शनमा विदेशी नागरिकसमेत सहभागी थिए ।
नेपाली दौरासुरुवाल तथा ढाका टोपीमा देखिएका उनी अमेरिकन नागरिक रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले ५८ वर्षीय जुलियन क्रिपा ब्लिस नाम गरेका अमेरिकी नागरिकलाई नियन्त्रणमा लिई अध्यागमन विभागमा पठाइएको छ । उनी पर्यटक भिसामा नेपाल आएको बुझिएको छ ।
यस्तै सुनसरीको धरानमा नेकपा (माओवादी केन्द्र) निकट वाइसिएल नेपालले कुलमानलाई बर्खास्त गरेको विरुद्ध राँके जुलुस साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । धरान उपमहानगरपालिका–३ माछाभौडीबाट वाइसिएल नेपालका केन्द्रीय सचिव श्री सुब्बाको नेतृत्वमा राँके जुलुससहित प्रधानमन्त्रीको पुत्ला दहन गरिएको थियो । तर भानुचोक आउने तयारी गरेको टोलीलाई प्रहरीले देशीलाइनमै हस्तक्षेप गरेको थियो । विभिन्न नारासहित जुलुस प्रदर्शन गरिएको हो ।
यसैबीच कुलमान घिसिङले सरकारले बदनियतपूर्वक हटाएको निर्णयविरुद्ध बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले बुधबार पेश भएको रिट निवेदन बिहीबार मात्रै दर्ता भएको छ भने आज (शुक्रबार) सुनुवाइ हुने भएको छ । कुलमानको कार्यकाल सकिन अब करिब चार महिना रहेको छ । सरकारले कुलमानलाई बर्खास्त गरी कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।