विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगितामा इलाम र झापाले रोमाञ्जक जित निकालेको छ ।
बिहीबार भएको खेलमा इलामले घरेलु टिम मोरङलाई र झापाले सुनसरीलाई हराएको हो । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा मोरङलाई ६ रनले स्तब्ध बनाउँदै इलामले रोमाञ्चक जित निकाल्दै दुई अङ्क जोडेको छ । इलाम यसअघि उद्घाटन खेलमा उदयपुरसँग पराजित भएको थियो । इलामले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको मोरङले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७ रनमा सीमित भयो । मोरङका सन्तोष चौधरीले ४० बलमा ३९ रन बनाए । उनले दुई चौक्का र एक छक्का प्रहार गरे । मिनाश थापाले २२ बलमा ३२ रनको योगदान दिए ।
इलामका विशाल आचार्य र प्रज्वल खत्रीले समान २–२ विकेट लिए । लभ कामतले १ विकेट लिए । यसअघि ब्याटिङ गरेको इलामले १९ ओभर ५ बलमा सबै विकेट गुमाई १ सय १३ रन बनाएको थियो । सिवान्श बजगाईंले सर्वाधिक ३० रन बनाए । उनले २७ बलमा ५ चौका प्रहार गरे । इलामका लभ कामतले ३० बलमा २६ रन पारी खेल्दा सुशान्त सापकोटाले १७ बलमा १६ रनको योगदान दिए । मोरङका बलर अर्मन अली र मिनाश थापाले समान ३–३ विकेट लिए । खेलको प्लयेर अफ द म्याच इलामका लभ कामत घोषित भए । उनले नगद २ हजार पाँच सय पाए ।
दोस्रो खेलमा झापाले सुनसरीलाई ६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा सुनसरीको यो दोस्रो हारसँगै प्रतियोगिताबाटै बाहिरिएको छ । टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १७ रन बनाएको थियो । झापाको जितका लागि सङ्गम बुढाथोकीले सर्वाधिक २१ बलमा २६ रन बनाए । भुपाल डाँगीले २५ बलमा २२ रन पारी खेल्दा झापा दीपु भुजेल र भूपेस गौतमले समान २१–२१ रनको योगदान गरे । झापाका अरू ब्याटरले दोहोरो अङ्क ल्याउन सकेनन् । सुनसरीका शिरान यादव र सोनु मण्डलले समान २–२ विकेट लिए । शिरानले ४ ओभरमा २९ रन खर्चिए भने सोनुले २ ओभरमा १५ रन खर्चिए ।
त्यसअघि सुनसरीले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ११ रनमा समेटियो । सुनसरीका गौरव कटुवालले ३१ रन पारी खेल्दा श्रीजन २२ रन र सोनु मण्डलले १८ रनको योगदान दिए । झापाका विजय कार्की र सुरन्जन राईले समान २–२ विकेट लिए भने सङ्गम बुढाथोकीले एक विकेट लिए । सङ्गम खेलको प्यलेयर अफ द म्याच घोषित भए । आज (शुक्रबार) आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी र झापा जिल्लाबीच खेल हुनेछ ।