धरान । किरात राई कर्मचारी मञ्च जिल्ला कार्यसमिति सुनसरीले शनिबार धरान–१० स्थित यलम्बर स्मृति सङ्ग्रहालयमा १५ औँ स्थापना दिवस मनाएको छ । 

स्थापना दिवसको अवसरमा किरात राई कर्मचारीमा आबद्ध नयाँ कर्मचारीलाई स्वागत तथा बढुवा भएकालाई बधाई ज्ञापन गरिएको छ ।

यस्तै सेवानिवृत्त भएका कर्मचारीहरूलाई सम्मान–पत्र प्रदान गरी बिदाइ गरिएको उपाध्यक्ष निरबहादुर राईले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सत्यनारायण राई, देशकुमार राई र रेनुका राईलाई सम्मान–पत्र प्रदान गरी बिदाइ गरिएको हो । उनीहरू धरान उपमहानगरपालिकाबाट सेवानिवृत्त भएका थिए । यस्तै सुनसरी जिल्लाभित्र सरुवा तथा पदस्थापना भई आएका किरात राई कर्मचारीहरूलाई स्वागत तथा बढुवा हुनेलाई बधाई ज्ञापन गरिएको थियो । 

कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख अतिथि मञ्चका केन्द्रीय कोषाध्यक्ष ध्यानवीर राई, किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई तथा अध्यक्ष अरुणकुमार राईले सम्मान–पत्र प्रदान गरेका थिए । 

कार्यक्रममा सल्लाहकार भुवन राई र मञ्चका धरान उपमहानगर कमिटीका अध्यक्ष मुगाधन राईलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।