धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–९ उत्तरपानी लिसिम्बु चोकनजिकै एक घरमा शनिबार साँझ आगलागी हुँदा ११ करोड ६ लाख बराबरको क्षति भएको छ ।
पाख्रीबास नगरपालिका–९ उत्तरपानी लिसिम्बु चोकस्थित अमर श्रेष्ठको काठ र टिनको छानोले बनेको दुई तले घरमा करेन्ट सर्ट भई आगलागी भएको थियो । सो घरमा आगलागी भएपछि धनकुटा नगरपालिकाको दमकल, २ नं. बाहिनीबाट नेपाली सेना, धनकुटाबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा राति ११ बजे मात्रै आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो ।
आगलागीबाट उक्त घरमा रहेको किराना होलसेल पसल, पसलमा रहेका सम्पूर्ण सामानहरू, नगद ५ लाख, सुनचाँदीका गरगहना, भाँडाकुँडा, लत्ताकपडा पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । त्यसैगरी अमर श्रेष्ठको अर्को निर्माणाधीन २ तल्ले पक्की घरको झ्याल, ढोका र वालसमेतमा क्षति हुँदा ११ करोड ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
श्रेष्ठको घरमा लागेको आगोले छिमेकी खगेन्द्र घिसिङको २ तले निर्माणाधीन पक्की घर आंशिकरूपमा क्षति भएको वडाध्यक्ष सम्झना आलेले जानकारी दिइन् । घिसिङको घरमा आंशिक आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर सुमन खड्काले जानकारी दिए ।