वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–२ को पुनर्वासमा कालोपत्रे सडक निर्माण थालिएको छ । सङ्घ र प्रदेश सरकारको अनुदानमा वडाको २ स्थानमा करिब ९ सय मिटर लामो पिच सडक बनिन लागेको हो ।
सङ्घीय सरकारको एक करोड १८ लाख रुपैयाँ अनुदानमा वसन्तचोकबाट रमाइलोचोक हुँदै हाटखोलासम्म जाने छ सय ६५ मिटर कालोपत्रे सडक निर्माण भइरहेको २ नम्बर वडाध्यक्ष होमप्रसाद गौतमले बताए । कोशी प्रदेश सरकारको ३० लाख रुपैयाँ लगानीमा रमाइलोचोकबाट पूर्व दिशाको नडाहा–चतरा सडक जोड्ने २ सय ३० मिटर सडक निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष गौतमले जानकारी दिए ।
उक्त सडकको ठेक्का भारद्वाज आचार्य कन्स्ट्रक्सन प्रा.लि.ले पाएको छ । वसन्तचोक सडकमा हाल प्राइम कोटिङ भइरहेको ठेकेदार पोखरी ताम्वे कन्स्ट्रक्सन प्रा.लि.का प्रमुख परशुराम कार्कीले बताए । उक्त कन्स्ट्रक्सनले वडा १ को तोरीबारी खानेपानी कार्यालयबाट जगत्गुरु आश्रमसम्म एक हजार २ मिटर सडकमा समेत गर्ने कन्स्ट्रक्सनका प्रमुख कार्कीले जानकारी दिए ।
प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको एक सय ९० मिटर सडकमा स्थानीय गाउँलेले मिसगिट्टी दिएर सहयोग गरेको हुँदा सडकको लम्बाइ ४० मिटर बढाएर दुई सय ३० गरिएको ठेकेदार भारद्वाज कन्स्ट्रक्सनका प्रमुख शिशिर चौलागाईंले बताए । आर्थिक वर्ष २०८१/०८२ मा मङ्सिर महिनामा सम्झौता भएको दुवै योजना आउने जेठ महिनामा सम्पन्न हुने ठेकेदारद्वयले जानकारी दिए ।

आदर्श मा.वि.को गेटबाट वसन्त चौकस्थित भक्तबहादुर बस्नेतको घरसम्म करिब ८ सय मिटर गरी वडाको विभिन्न ७ स्थान गरी करिब ८ किलोमिटरको सडक निर्माणको माग सङ्घ र प्रदेश सरकारसँग गरिएको भन्दै आ.व. २०८२÷०८३ मा दुईमध्ये एक सरकारबाट प्राप्त हुने करिब एक करोड रुपैयाँ अनुदानले वडा कार्यालय भवनको निर्माण थालिने वडाध्यक्ष होमप्रसाद गौतमले बताए ।