धरान । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन धरानले यातायात मजदुरहरूसँग सडक संवाद गरेको छ । मङ्गलबार र बुधबार भानुचोक बसपार्कमा मजदुरहरूलाई भेटेर संवाद सँगसँगै ८१ जना यातायात मजदुरहरूलाई नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको सदस्यता वितरण गरिएको छ । 

मजदुरहरूले सडकमा सामना गर्नुपर्ने समस्याहरू, व्यवसायजन्य स्वास्थ्य, पेशागत सङ्कटहरूका बारेमा संवाद गरिएको हो । संवादमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, धरानका पूर्व अध्यक्ष कमल भट्टराई, धरान नगर अध्यक्ष किरण थापालगायतका नेताहरू संलग्न रहेका थिए । 

मजदुरहरूले आफ्ना नेतृत्वसँग सडकमा हुने प्रशासनिक झमेला, सडक दुर्घटनापछि भौतिक असुरक्षा, कानूनी त्रुटिका कारण मजदुरहरूले भोग्नुपर्ने हैरानीलगायतका समस्याहरू राखेका थिए । त्यस्तै क्रमशः पेशा धरापमा पर्दै गइरहेको, काम गरेर जीवन चलाउन हम्मे भएको, श्रम कानूनअनुसारको सेवा सुविधाहरू नपाएको विषयमा मजदुरहरूले गुनासो गरेका थिए । 

मजदुरहरूसँगको छलफलमा मजदुर नेता तथा सङ्गठनका अध्यक्ष राईले नेपालको सार्वजनिक यातायात क्षेत्रमा स्थायी संरचना नबनेका कारण लामो इतिहास बोकेको यातायात क्षेत्र र यातायात मजदुरहरू सङ्कटमा परेको बताए ।  

संरचना परिवर्तन र कानून संशोधनका लागि देशभरिका मजदुरहरू सङ्गठनमा आबद्ध हुनुपर्ने राईले बताए । सोही अवसरमा ८१ जना यातायात मजदुरहरूलाई नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको सदस्यता वितरण गरिएको छ ।