धरान । परिवर्तनको लागि सामाजिक अभियानले ७७ औँ संस्करणको सामाजिक स्वास्थ्य क्लिनिक धरानको आदर्श बोर्डिङ स्कुलसँगको सहकार्यमा सम्पन्न गरेको छ । 

शनिबार आयोजित क्लिनिकमा ९४ जना ज्येष्ठ नागरिकले सेवा लिएको अध्यक्ष विष्णु बरालले जानकारी दिए । पाक्षिक रूपमा आयोजना गर्दै आएको क्लिनिकमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रशान्त साहले जाँच गरेका थिए । ज्येष्ठ नागरिकलाई लक्षित गर्दै आयोजना हुँदै आएको क्लिनिकमा मुटुरोग तथा उच्च रक्तचाप, मधुमेहलगायतको जाँच गरिँदै आएको छ । 

स्कुलकी अध्यक्ष सुनिता न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा स्कुलसँग आबद्ध रहेका अभिभावक तथा स्थानीयहरूलाई सेवा दिइएको थियो । अभियानले विभिन्न सङ्घसंस्थाहरूसँग पनि सहकार्य गरी कार्यक्रम आयोजना गर्दै आएको छ । 

विगत तीन वर्षदेखि धरान उपमहानगरपालिका–१ स्थित मोडल कलेजबाट अभियानले सामाजिक स्वास्थ्य क्लिनिक सुरु गरेको अध्यक्ष बरालले जानकारी दिए । अहिलेसम्म धरानबाहेक, सुनसरीका विभिन्न क्षेत्र, मोरङ, झापालगायत क्षेत्रमा सेवा दिइसकेको छ ।