धरान । कोशी सरकारअन्तर्गत पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘कोशी पर्यटन वर्ष’ को अवसर पारेर भारतबाट भित्रिने सवारी साधनहरूलाई स्टिकरको व्यवस्था गरेको छ । 

पर्यटन वर्षमा आवातजावतमा सहज बनाउने उद्देश्यले सीमानाकाहरूबाट भारतीय नम्बर प्लेटका सवारी साधनलाई आवश्यक जाँचपछि स्टिकर टाँस गरेको छ । आइतबार वातावरण मन्त्री सदानन्द मण्डलले सवारी साधनमा स्टिकर टाँसेर कार्यक्रमको उद्घाटन गरेका हुन् । 

सुनसरी जिल्लाको कोशी ब्यारेज नाकाबाट प्रवेश गरेका भारतीय नम्बर प्लेटका सवारी साधनलाई आवश्यक जाँचपछि स्टिकर टाँसिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रामप्रसाद आचार्य, सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द मिश्र, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनालगायतको उपस्थितिमा स्टिकर टाँस गरिएको हो । 

कोशी प्रदेश सरकारले २०८२ लाई कोशी पर्यटन वर्षको रूपमा मनाउने निर्णय गरेको थियो । यसको उद्घाटन चैत २७ गते तेह्रथुमबाट गरिसकेको छ ।