धरान । खानेपानी व्यवस्थापन बोर्ड धरानले कुनै सूचना नै नगरी बोर्डका अध्यक्ष हर्कराज राई (साम्पाङ)को ठाडो निर्देशनमा एक उपभोक्ताको खानेपानीको धारा नगर प्रहरी लगाएर काटिदिएको भन्दै पीडितले गुनासो गरेका छन् ।
धरान उपमहानगरका प्रमुखसमेत रहेका साम्पाङ अभियन्ता हुँदादेखि नगर प्रमुख हुँदासम्मका समर्थक रहेका धरान–१५ विशाल चोकका इन्द्रबहादुर तामाङको धारा सोमबार बिहान काटिएको हो ।
कुनै जानकारी नै नदिई एक्कासि आफू पनि घर नभएको बेला धारा काटिएको तामाङले बताए । उनका अनुसार एक गाडी नगर प्रहरी, दुई जना जनपद प्रहरी र खानेपानी बोर्डका दुई जना प्लम्बरहरू आएर माथिको आदेश भन्दै धारा काटेर गए ।
धारा किन काटियो ?
नगर प्रमुख साम्पाङले पटक–पटक मिलान हुन्छ भनेपछि तामाङले २–३ वर्षदेखि पानीको महसुल बुझाएका थिएनन् । हाल उनको ४० हजार बक्यौता भएको थियो । नगर प्रमुखले बेला–बेलामा ‘तिर्नु पर्दैन पछि मिलान हुन्छ’ भनेपछि नतिरी बस्दा ठूलो रकम बाँकी भएको तामाङको भनाइ छ । ‘मेयर सा’पले थोरै रकम हुँदा नै तिर्नुपर्ने रहेछ भन्नुभएको भए हामी बुझाउँथ्यौँ । अहिले आएर ठूलो रकम भयो । पहुँचबाहिरको बक्यौता भयो’ तामाङले भने, ‘शुक्रबार मिलाइदिनुप¥यो भनेर उपमहानगरपालिका जाँदा मेयरसा’पले उल्टै हामीलाई अपमान गरेर नगर प्रहरी लगाएर बाहिर निकाल्नु भयो ।’ साम्पाङको टिमबाट वडा नं. १ का वडाध्यक्ष उठेका बिहानसिंह श्रेष्ठ र आफूलाई अपमान गरेर बाहिर निकालेको उनले बताए ।

शुक्रबार हिसाब मिलानका लागि उनीहरू उपमहानगर प्रमुखको कार्यकक्ष पुगेका थिए । नगर प्रमुखले ‘बाँकी बिल मिलाउन मिल्दैन’ भनेपछि नगर प्रमुखसँग भनाभनसमेत भएको थियो । दोहोरा भनाभन भएपछि उनीहरूलाई नगर प्रहरीले बाहिर निकालेका थिए । बिल बढी भएको कुरा बोर्डका कर्मचारीहरूले चैत २७ गते जानकारी गराएपछि आफू नगरप्रमुखलाई निर्वाचनताका गरेको वाचा पूरा गर्न अनुरोधका लागि पुगेको उनी बताउँछन् । उनीहरूलाई ठेक्का नपाएर मेरो बदनाम गरेको समेत भनेर नगरप्रमुखले आरोप लगाए । तर आफूसँग लाइसेन्स नै नभएर कुनै ठेक्का नमागेको तामाङले दाबी गरे । आफू सामान्य निर्माण मिस्त्री मात्र भएको उनले बताए ।
खानेपानीको बिल नतिर्नुको भित्री कुरा
इन्द्र तामाङ २०७७ सालतिर निर्माण क्षेत्रमा लेवर काम गर्दै आएका थिए । दलहरूप्रति उनमा कुनै भरोसा नलागेपछि त्यसबेला साम्पाङले चलाउँदै आएको अभियानमा सहभागी भए । उनले काम पनि सिक्दै गए र साम्पाङलाई सपोर्ट पनि गर्दै गए । २०७९ सालको स्थानीय तहको निर्वाचनमा हौसिएर मजदुरी गरेर कमाएको पैसाले साम्पाङलाई ५ हजारको एउटा हाते माइक पनि किनिदिएको तामाङले स्मरण गराए ।
तामाङका अनुसार निर्वाचन अघिदेखि नै ‘एडिबीको खानेपानीमा भ्रष्टाचार भएको छ । धारामा हावा आएको बिल तिर्नु पर्दैन’ भनरे साम्पाङले उनका सहयोगीहरूलाई उर्दी जारी गरे । कतिपय विपन्न परिवारले यस्तै आश्वासनका कारण उनलाई सहयोग गरेको तामाङ बताउँछन् । धरानका लागि केही गर्लान् भन्ने लागेर र पानीको बिल तिर्न नपर्ने भनेपछि आफूले पनि साम्पाङलाई खुलेर सहयोग गरेको उनको भनाइ छ ।
‘जनताका लागि लडेको भन्ने तर जनतालाई समस्या परेका बेला कार्यकक्षबाट नगर प्रहरी लगाएर लखेट्ने काम भयो’–तामाङले भने । विगतमा तिलक राई नगर प्रमुख भएको बेला धरान–११ का एक उपभोक्ताको १ लाख ३६ हजारको बिल राईले न्यूनतम् १७ हजार तिर्ने गरी मिलाइदिएको उनले स्मरण गराए । तर हालका प्रमुखलाई अनुरोध गर्न जाँदा आफूलाई भने लखेटेको उनको भनाइ छ ।
यस विषयमा नगर प्रमुखले छानीछानी बिल नतिर्नेको धारा काटिदिन बताएको तामाङले बताए । उनले सामाजिक सञ्जालमै नगर प्रमुखले स्टाटस लेखेर बिल नतिर्नेको धारा काटिने जनाएको बताए । नगर प्रमुख साम्पाङले ‘स्वार्थ बोकेर आफूलाई सहयोग गर्नेहरूको बिल मिनाहा गरी नगरपालिकाको राजस्व घटाउन म मेयर भएको होइन’ भनेर स्टाटस लेखेका छन् ।
तामाङको विषयमा उनले लेखेका छन्, ‘३ वर्ष ६ महिनाको खानेपानीको बिल मिनाहा गरिदिनू भन्दै दबाव दिन आएका चुनावमा सघाउने साथीहरूलाई मैले बिल छोडिदिनु पर्ने रे, त्यो पनि धाकधम्कीसहित आउनेलाई लाइभमा बसेर केही हुँदैन दुनियाँलाई थाहा छ । ठेक्काको आशा गरेर मलाई फोन गरेको हो र होइन आफ्नो आत्मालाई सोध्नू । रास्वपाको कार्यकर्ता हो ऊ !’
धारा काटिएकोबारे सामाजिक सञ्जालमा विरोध
शुक्रबार मात्र नगर प्रमुखसँग भनाभन भएपछि एक्कासि सार्वजनिक बिदाको दिन उपभोक्ताको धारा काटिँदा सामाजिक सञ्जालमा विरोध भएको छ । धरान–१५ का वडाध्यक्ष नरेश इवारमले समेत धारा दिने बेलामा वडाको सिफारिस खोज्ने र काट्ने बेलामा वडाध्यक्षलाई जानकारीसमेत नदिने तरिका राम्रो नभएको बताए । पानीजस्तो विषय एक्कासि धारा काट्नु उचित नभएको उनले बताए ।
यता जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष ताजुव लिम्बूले धारा काटेर समस्या समाधान नहुने बताउँदै रिस, आवेग र ‘इगो’ समस्या समाधानको बाधक हुने भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।