धरान । सुनसरीको इटहरी उपमहानगरपालिका–१५ स्थित इँटाभट्टामा काम गर्ने एक मजदुरका ३ वर्षीय छोराको इँटा लोड गरिएको ट्याक्टरले किचेर ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इँटा भट्टामा काम गर्दै आएका ऐनुल मियाँका ३ वर्षीय छोरा माहिर मियाँको खेल्ने क्रममा प्रदेश १–०२–००३ त ७०२ नम्बरको ट्याक्टरले किच्दा उनको ज्यान गएको हो । प्रहरीका अनुसार इँटा लोड गरी बाहिर निस्कने क्रममा पछाडिको टायरले उनको टाउकोमा किचेका कारण घाइते भएका थिए ।

उनलाई तत्कालै नोबेल अस्पताल विराटनगर लगिए पनि चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीले चालक सुनसरी इनरुवा नगरपालिका–६ का ४३ वर्षीय पुनबहादुर श्रेष्ठ र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । पीडित मियाँ भारतको न्यू कुज बङ्गाल बिहार वेस्ट बङ्गालवासी हुन् ।   

यस्तै ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–५ मा बोलेरो जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सह–चालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार जिपका चालक पाँचथर फिदिम नगरपालिका–३ का २५ वर्षीय सरोज श्रेष्ठको निधन भएको हो । उनलाई उपचारका लागि तापेथोकस्थित आधारभूत स्वास्थ्य चौकीमा लगिएको थियो । 

यस्तै सह–चालक फिदिम नगरपालिका–३ का सौजन श्रेष्ठको ढाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । बुधबार लेलेपबाट तापेथोकतर्फ जाँदै गरेको मे.१ च ५१९३ नम्बरको जिप अनियन्त्रित भई सडकभन्दा करिब ३ सय मिटर तल खसेको थियो । घाइते भएका सह–चालक श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ ।