विराटनगर । कोशी प्रदेश सरकारले यही वैशाख १८ र १९ गते विराटनगरमा ‘कोशी प्रदेश लगानी सम्मेलन’ आयोजना गर्ने तयारी तीव्र पारेको छ ।
प्रदेश सरकारले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरी सम्मेलनका बारेमा विस्तृत जानकारी सार्वजनिक गरेको हो ।प्रदेश सरकारका अनुसार यो सम्मेलनको मुख्य उद्देश्य कोशी प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना र निजी क्षेत्रको सहभागिता अभिवृद्धि गर्नु हो । यसअघि गत माघमा आयोजना गर्ने योजना बनाइएको सम्मेलन पर्याप्त तयारीको अभावमा स्थगित गरिएको थियो । तर अहिले पूर्ण तयारीका साथ यो आयोजना हुन लागेको प्रदेश सरकारले जनाएको छ ।
सम्मेलनको आयोजना विशेषगरी पर्यटन वर्ष २०८२ लाई लक्षित गरी कोशी प्रदेशलाई लगानीमैत्री वातावरण बनाउने दीर्घकालीन रणनीतिको एक महŒवपूर्ण कडीको रूपमा हेरिएको छ ।
सम्मेलनमा कृषिजन्य उद्योग, पर्यटन विकास, ऊर्जा, पूर्वाधार निर्माण, सूचना प्रविधि, स्वास्थ्य सेवा, शिक्षा, वन तथा जलस्रोत व्यवस्थापन, उत्पादनमूलक उद्योगलाई प्राथामिकता दिएको सचिवालयका सदस्य–सचिव पवनकुमार तिम्सिनाले जानकारी दिए ।

लगानी सम्मेलनको लागि बाधा हुने कानून संशोधन हुन्छः मुख्यमन्त्री
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानी सम्मेलनको लागि आयोजना छनोट, लगानीका लागि रहेको बाधा हुने खालका कानून संशोधन गर्ने प्रक्रिया जस्ता कामको तयारी पूरा भएको बताएका छन् ।
लगानी सम्मेलनको तयारीका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कार्कीले त्यस्तो बताएका हुन् ।
लगानी सम्मेलनमा मुख्य गरी पर्यटन क्षेत्रका योजनाहरू समेटिएको र त्यसबाहेक उद्योग र आईटी क्षेत्रलाई पनि समेटिएको मुख्यमन्त्री कार्कीले जानकारी दिए । सङ्घीय सरकारसँगको समन्वयमा कानून संशोधन र आवश्यक नीतिहरू संशोधन गरिने उनले बताए । लगानी सम्मेलनले कोशी प्रदेशमा लगानीको वातावरण निर्माण हुने र यसले रोजगारी सिर्जनामा सहयोग हुने बताउँदै मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनमार्फत् राष्ट्रिय पुँजीको विकास हुने दाबी गरे ।
राष्ट्रिय आयको वृद्धिमा यसले सहयोग पु¥याउने चर्चा गर्दै कार्कीले विगतमा भएका लगानी सम्मेलनबाट पाठ सिक्दै अधिकतम् लगानी भित्र्याउने र लगानीको सुनिश्चितताको लागि सम्मेलन सफल हुने बताए ।