धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जरी विभाजअन्तर्गतको युरोलोजी डिभिजनको समन्वयमा अन्तर्राष्ट्रिय स्तरको दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा ‘सुपिने पिसीएनएल र ल्याप्रोस्कोपिक सर्जरीसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको छ । कार्यशालामा विश्वस्तरीय विशेषज्ञ चिकित्सकबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको बीपी प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानले जानकारी दिइन् ।
पहिलो दिन सैद्धान्तिक ज्ञान दिइयो भने दोस्रो दिन बीपी प्रतिष्ठानमा आएका बिरामीहरूलाई शल्यक्रिया गरी व्यवहारिक ज्ञान प्रदान गरिएको छ । प्रतिष्ठानको मोड्युलर र यूरो अपरेशन थिएटरमा प्रत्यक्ष शल्यक्रिया गरिएको थियो । गोष्ठी चैत १४ र १५ गते भएको हो ।
भारतबाट आएका प्रा.डा. बिमलकुमार दीक्षित, डा. पवन प्रभावकर सुरवासे र डा. निशान्थ शिभान्ना सहभागी थिए । नेपालको अन्य ठाउँबाट डा. पवनराज चालिसे, डा. मनिषमान प्रधान, डा. विपेन्द्रध्वज राई, डा. प्रज्ज्वल पौड्याल, डा. पुकार मास्के, डा. दीपक ठाकुर, डा. रामसागर साह, डा. सुनिल रेग्मी, डा. पुरुषोत्तम पराजुली सहभागी थिए ।

यस्तै कार्यक्रम आयोजक समितिका अध्यक्ष डा. रिकेशजङ्ग कार्की, डा. आवाज काफ्ले, डा. शैलेश महर्जन, डा. समीर चौधरी, डा. त्रिनेत्र कर्ण सहभागी थिए । गोष्ठीको उद्घाटन शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्माले गरे । उनले यस्ता कार्यशालाहरूले चिकित्सकबीच ज्ञान, अनुभव र सीप आदान–प्रदान गर्न सघाउने बताए । प्रतिष्ठानका डीन प्रा.डा. शिवेन्द्र झाको पनि सहभागिता थियो । दोस्रो दिनको प्रत्यक्ष शल्यक्रिया कार्यक्रम बीपीको अडोटरियम हलमा गरिएको थियो । यसबीचमा सहभागीहरूले प्रत्यक्ष संवाद तथा प्रश्नोत्तर गरेका थिए ।
कार्यक्रममा ११ जना मिर्गौलामा पत्थरी भएका बिरामीहरूको सुपिने पिसिएनएल प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने नौ जनाको ल्याप्रोस्कोपिक सर्जरी प्रविधिबाट शल्यक्रिया गरिएको डा. समीर चौधरीले जानकारी दिए ।