इटहरी । नेपाल प्रहरी श्रीमती सङ्घ कोशी प्रदेश र अरिहन्त मल्टी फाइबर्स लिमिटेडको संयुक्त पहलमा प्रहरी परिवारका सदस्यलाई लक्षित गरी सीपमूलक तालिमको शुभारम्भ गरिएको छ । बुधबार सुनसरीको दुहबी नगरपालिका–८ स्थित अरिहन्त मल्टी फाइबर्स लिमिटेडमा आयोजित कार्यक्रममा सीपसँगै रोजगारी सुनिश्चित गर्ने सम्झौतामा हस्ताक्षर गर्दै तालिमको औपचारिक सुरुवात गरिएको हो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजन अधिकारी प्रमुख अतिथि तथा नेपाल प्रहरी श्रीमती सङ्घ कोशी प्रदेशकी अध्यक्ष सुस्मिता के.सी. अधिकारी अध्यक्षका रूपमा उपस्थित रहेकी थिइन् ।

अरिहन्त मल्टी फाईवर्स लिमिटेडका कार्यकारी प्रमुख गोविन्द कुमार बजगाईंले तालिमको औपचारिक सुरुवात गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उक्त तालिम कार्यक्रम अन्तर्गत महिलाहरूलाई घरमै बसेर हेन्डिक्राफ्ट सामग्री उत्पादन गर्ने सीप प्रदान गरिनेछ ।

अरिहन्त मल्टी फाइवर्स लिमिटेडले आवश्यक कच्चा पदार्थ उपलब्ध गराई महिलाले उत्पादन गरेका सामग्रीहरू खरिद गर्नेछ, जसले उनीहरूलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउने उद्देश्य राखिएको छ ।

सङ्घकी अध्यक्ष सुस्मिता के.सी. अधिकारीले तालिम कार्यक्रमले प्रहरी परिवार विशेष गरी महिला सदस्यहरूलाई स्वरोजगारको अवसर दिलाई आत्मनिर्भरता हासिल गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन् ।