भद्रपुर । ठेक्का सम्झौता भएर म्याद सकिएको तीन वर्ष पूरा हुन लाग्दासमेत बहुवर्षीय योजनाअन्तर्गत धुलाबारीदेखि इरौंटारसम्मको निर्माणाधीन सडकको ३५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ ।
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, बुद्वशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले धुलाबारीदेखि इरौंटार सम्मको निर्माणाधीन सडकको स्थलगत निरीक्षणपश्चात् यस्तो देखिएको हो । २०७९ असार ३१ गते सम्पन्न हुनुपर्ने ठेक्का हालसम्म योजनाको २५ दशमलव ३६० किलोमिटर सडक अझै निर्माणाधीन अवस्थामा नै रहेको पाइएको छ । कन्काई–झापाली जेभी बिर्तामोडका सञ्चालक एवम् निर्माण व्यवसायी शेरबहादुर थापाले भ्याटसहित ४६ करोड २३ लाख ८२ हजार ९ सय ८३ रुपैयाँ २५ पैसामा २०७६ कात्तिक २० गते ठेक्का सम्झौता भएको भद्रपुर, ज्यामिरगढी, धुलाबारी, गोजावस्ती, मागुरमाडी, शान्तिनगर हुँदै इलामको इरौंटार सडकको अहिलेसम्म निर्माण कार्य भइरहेको छ ।
भद्रपुरदेखि ज्यामिरगढी सडकको भने यसअघि नै काम भइसकेको छ । पहिलो पटकको म्याद थपसहित २०८० मङ्सिर ३० गते सम्पन्न गर्नुपर्ने थियो । उक्त समयमा पनि नसकेपछि फेरि २०८१ माघ १० गते सक्ने गरी भ्यारिएशनसहित दोस्रो पटक ठेक्का भ्याटसहित ५१ लाख ३२ हजार ५ सय १७ रुपैयाँ ५० पैसामा दिने सम्झौता भएको थियो ।
पूर्वाधार विकास कार्यालय झापाका सिनियर इन्जिनियर उत्तम खरेलले बहुवर्षीय योजनाअन्तर्गत हालसम्म भौतिक प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ५९ प्रतिशत रहेको जानकारी दिए । उनले निर्माण व्यवसायीलाई २९ करोड ७३ लाख १६ हजार ५८ रुपैयाँ भुक्तानी भएको बताए । उनका अनुसार डीबीएसटी प्रविधिको कालोपत्रे सडक भएकाले आ.व. २०८१÷८२ को विनियोजित बजेटबाट थप ९ करोड रुपैयाँ दिइएको छ । जसमा उक्त बजेटबाट ६४ लाख २१ हजार ८४ रुपैयाँ सडकमा खर्च भएको छ ।

हालसम्म ६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । २२ किलोमिटर सव–बेस सम्पन्न, ६ किलोमिटर बेस निर्माणाधीन र ९० प्रतिशत संरचना कार्य सम्पन्न भएको सिनियर इन्जिनियर खरेलको भनाइ छ । निर्माण व्यवसायी थापाले सरकारले ठेक्का सम्झौता भए अनुसारको पूरा बजेट विनियोजन नगरेका कारण सडक निर्माणमा ढिलाइ भएको दाबी गरेका छन् । उनका अनुसार उक्त सडक निर्माणका लागि म्याद सकिएकाले थप म्यादको प्रक्रियामा रहेको छ । म्याद थपिएर अन्तिम पटकको बजेट आए समयमै काम सकिने थापाको भनाइ छ ।
तत्कालीन झापा क्षेत्र नं.१ ‘ख’ का पूर्व प्रदेश सभा सदस्य हुँदा धुलाबारीदेखि इरौंटार सम्मको २५ किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)सहित योजना ल्याएको नगरप्रमुख बुढाथोकीको भनाइ छ । २५ किलोमिटर सडकमध्ये ८ किलोमिटर सडक शान्तिनगरको भित्तामा किन ठोक्काउने भनेर इलामको रोङ गाउपालिकाको इरौंटारसम्म लाने प्रस्ताव गरेको बुढाथोकीले बताए । उनले इलामलाई झापासहित मेचीनगरको बजारलाई व्यावसायिक कारोबारसँग जोड्न त्यसो गरिएको बताए ।
धुलाबारीदेखि टुठेबरसम्म १० किलोमिटर, एक किलोमिटर मदन भण्डारी राजमार्ग जोडिएको छ; ६ किलोमिटर गांैडासम्म र ८ किलोमिटर इरौंटारसम्म सडक विस्तार गर्ने योजना रहेको छ । उक्त निर्माणाधीन सडक मेचीनगर नगरपालिका, बुद्वशान्ति गाउँपालिका र रोङ गाँउपालिकाको क्षेत्रभित्र पर्दछ ।