विराटनगर । मोरङको सुन्दरहरैंचामा विद्युत् ट्रान्सफर्मर चोरीको घटना सामाजिक सञ्जालमा ट्रोलको विषय बनेको छ । गत बुधबार राति चोरको समूहले सुन्दरहरैंचा जोगियारेस्थित ट्रान्सफर्मर नै चोरेर लगेपछि यो घटना सार्वजनिक चासोमा आएको हो ।
प्रहरीका अनुसार चोरले ट्रान्सफर्मरभित्र रहेको झण्डै २० किलो तामाको तार निकाल्न पूरा ट्रान्सफर्मर चोरेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार चोरको हुलिया पहिचान भइसकेको छ र उनीहरूको खोजी कार्य तीव्र पारिएको छ । उनका अनुसार यसअघि पनि फागुन २७ गते ग्रामथान–४ र फागुन २९ गते सुन्दरहरैंचाको बस्तीपुरबाट ट्रान्सफर्मर चोरी भएका थिए । तीनवटै घटनाको शैली एउटै देखिएको हुँदा एउटै समूह संलग्न रहेको प्रहरीको अनुमान छ ।
‘चोरहरू ट्रान्सफर्मरको फ्यूज तानेर विद्युत् लाइन बन्द गर्छन्, त्यसपछि ट्रान्सफर्मर खोलेर भित्रको तामा निकाल्छन्’–डिएसपी जोशीले भने । विद्युत् प्राधिकरणका कर्मचारीका अनुसार ट्रान्सफर्मरको क्षमता अनुसार तामाको तारको तौल फरक पर्न सक्छ र यसको बजार मूल्य प्रतिकिलो ३ हजारदेखि ३५ सय रुपैयाँसम्म पर्न सक्छ ।
ट्रान्सफर्मर मात्र होइन, अर्थिङको तार पनि चोरी भइरहेकाले कर्मचारी हैरान छन् । विराटनगर विद्युत् वितरण केन्द्रका अनुसार पछिल्लो एक वर्षमा मात्रै ५० भन्दा बढी चोरीका घटनाहरू भएका छन् । केन्द्रका प्रमुख सरोजकुमार साहले पहिले यस्तो गिरोहलाई नियन्त्रणमा लिइएपछि केही समयका लागि चोरी रोकिएको भए पनि अहिले पुनः चोरीका घटना बढेको बताए ।

‘चोरहरूले लठ्ठीले हानेर फ्यूज झार्ने र त्यसपछि ट्रान्सफर्मर खोल्ने गरेका छन्’ साहले भने, ‘हामीले प्रहरीलाई अनुसन्धानका लागि चिठी पनि काटेका छौं तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।’ उनले अर्थिङको तार चोरीको समस्या झनै चिन्ताजनक भएको जनाए । उनका अनुसार १–२ मिटरतामाको तार चोरेर १०–२० रुपैयाँमा बेचिन्छ भने प्राधिकरणको मूल्य सूचीअनुसार त्यो तारको मूल्य ५–६ सय रुपैयाँ पर्छ ।
प्राधिकरणको आन्तरिक स्रोतका अनुसार सुन्दरहरैंचाको घटनामा साना चोर नभई ठूला गिरोह संलग्न हुनसक्ने आशङ्का छ । चोरी भएको तार पगालेर बेचिएको हुनसक्ने अनुमान प्राधिकरणका कर्मचारीले गरेका छन् । सुरक्षाको अभाव र चोरीको बढ्दो घटनाले विद्युत् सेवा प्रभावित हुने अवस्था आएकोले अब सर्वसाधारण र सम्बन्धित निकायले सतर्कता अपनाउनुपर्ने देखिएको छ ।