धरान । उपकुलपतिविहीन बनेका चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्मालाई तोकिएको हो ।
उनी यसअघि पनि निमित्त उपकुलपति भई काम गरिसकेका व्यक्तित्व हुन् । तत्कालीन उपकुलपति डा. ज्ञानेन्द्र गिरीले पदीय मर्यादा विपरीत ‘प्रोफेसर’ पदको दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनलाई केही समय निमित्त उपकुलपति तोकेको थियो ।
देशका चार स्थानमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकाल सकिएको भए पनि हालसम्म सरकारले उपकुलपति नियुक्त गर्न सकेको छैन । गत बिहीबार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै प्रतिष्ठानका निमित्त उपकुलपति तोकेका हुन् ।
बीपी प्रतिष्ठानमा गत चैत २६ गते उपकुलपति डा. गिरीको कार्यकाल सकिएको थियो । उनी करिब डेढ वर्षसम्म उक्त मुद्दामा छानबिनमा परेका थिए । तर, सफाइ पाई पुनः उपकुलपतिको जिम्मेवारीमा रहेका थिए । उक्त समयमा प्रा.डा. प्रह्लाद कार्कीलाई पनि उपकुलपति बनाइएको थियो ।

तर, पुनः भ्रष्टाचारको मुद्दामा सफाइ पाएपछि डा. गिरी आई जिम्मेवारी सम्हालेका थिए । डा. गिरीले कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको ‘प्रोफेसर’ पद प्रयोग गरेको देखिएको भन्दै अख्तियारले २०७९ माघ ९ गते विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । उनको कार्यकाल पूरा भएपश्चात् हाल अर्को उपकुलपति नियुक्त भएको अवस्था छैन ।
सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. पवन शर्मालाई दिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डिन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर डबलबहादुर धामीलाई तोकिएको छ ।
उनीहरूलाई नयाँ उपकुलपति नियुक्त नभएसम्मका लागि नियमित शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी दिइएको हो । चारवटै प्रतिष्ठानमा गत चैत २३ गतेदेखि २७ गतेसम्म चार वर्षे उपकुलपतिको कार्यकाल पूरा भएको थियो ।