धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले सामुदायिक विद्यालयलाई अब्बल बनाउने नीति लिएको छ । पालिकामा ४३ वटा सामुदायिक विद्यालयहरू छन् । तर निजी विद्यालय भने लेगुवामा एउटा मात्र रहेको छ ।
जितपुर र मूर्तिढुङ्गामा भएका बोर्डिङ स्कुलहरू पनि नजिकका सामुदायिक विद्यालयहरूले विद्यार्थी तानेपछि बन्द भएका छन् । नगरपालिकाले सामुदायिक विद्यालयहरूलाई नै उत्कृष्ट बनाउने अभियान थालेको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले बताए ।
पालिका क्षेत्रका विद्यार्थीहरू अन्यत्र पालिकाका बोर्डिङ स्कुलहरूले लैजान नपाउन् भनेर निजी विद्यालयका सवारी साधन सञ्चालनमा समेत नगरपालिकाले सोमबारदेखि रोक लगाएको छ ।
महालक्ष्मी नगरपालिकाले सोमबार सार्वजनिक सूचना नै जारी गर्दै पालिकाभित्रका सबै वडामा निजी विद्यालय बन्द गरिसकेको अवस्थामा अन्य पालिकामा रहेका निजी विद्यालयका स्कुल बसहरू प्रवेशमा समेत रोक लगाएको हो । जारी सूचनामा भनिएको छ–‘यस पालिकाभित्र प्रवेश गरी बालबालिकाहरू अन्यत्रका निजी विद्यालयहरूले लाने गरेको जनगुनासो स्थानीयस्तरबाट आएकाले रोक लगाइएको हो ।’

सूचना प्रकाशन भएको मितिबाट महालक्ष्मी नगरपािलका क्षेत्रभित्र कुनै पनि निजी विद्यालयका स्कुल बस अर्थात् विद्यालयका सवारी साधनहरू प्रवेशमा पूर्णरूपमा रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ ।
महालक्ष्मी नपाका प्रमुख रायाले सोमबार सूचना जारी गरेर अन्य पालिकामा रहेका निजी विद्यालयको बस तथा सवारी साधनसमेत गुडाउन नपाउने जानकारी गराएका हुन् ।
नगरपालिकाको शिक्षा शाखाकी प्राविधिक सहायक लीलादेवी कार्कीका अनुसार पालिकाले सामुदायिक विद्यालयको स्तरोन्नति गरेर यहाँका बालबालिकाहरूलाई सामुदायिक विद्यालयमा पढ्ने वातावरण तयार गरेको बताइन् ।
पालिका केन्द्र जितपुरमा भएको जालपादेवी स्कुल र मूर्तिढुङ्गामा भएको बोर्डिङ स्कुल ३ वर्षअघि नै बन्द भएका छन् । अब महालक्ष्मी नगरपालिका निजी विद्यालयविहीन भएको उनले बताइन् ।